Logo

भिडियो कन्फ्रेन्सको वैधानिकता र सुरक्षामाथि प्रश्न किन ?



काठमाण्डौ । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारबाट मन्त्रीहरुले सोमबार भिडियो कन्फरेन्सिङ गरे । तर प्रविधिको दुरुपयोग गरिएको भन्दै त्यसको विरोध भएको छ । भिडिया कन्फ्रेन्सको केही वैधानिकता र अधिक सुरक्षाका हिसाबले प्रश्न उठेको छ । तर प्रधानमन्त्री कार्यालयले त्यसको खण्डन गरेको छ ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले भिडियोमार्फत उतैबाट मन्त्रीपरिषद बैठक बोलाउनुभयो । सोमबार नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बस्यो । उक्त बैठकलाई विवादमा तानिएको छ ।

प्रधानमन्त्री ओलीले यसलाई ‘मन्त्रिपरिषदको बैठक’ बताए पनि यसको बैधानिकतामाथि भने प्रश्न उठेको छ । तर सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यासको रुपमा अथ्र्याएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ती जनाएको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ती जनाए ।

मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ती जनाएको छ । सिंगापुरमा बसेर भिडियोमार्फत राष्ट्रका विषयमा छलफल गर्दा प्राविधिक सुरक्षाका दृश्टीले पनि खतरा हुन सक्ने कतिपयको आशंका छ ।

तर भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्नुमा खतरा नरहेको प्रधानमन्त्री कार्यालयले दाबी गरेको छ । कार्यालयका प्राविधिक अस्गर अलीले प्रधानमन्त्रीले टेली प्रिजेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्दा गोपनीयतामा खतरा नरहेको दावी गर्नुभएको हो । भिडियो कन्फ्रेन्समार्फत गरिएको बैठकको संचारमाध्यमलाई भिडियो खिच्न भने दिइएको थिएन ।



प्रतिक्रिया दिनुहोस्