काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् । हाल अमेरिका रहेकी उनी छिट्टै नेपाल आउने भएकी हुन् ।
नेपाल आउने मिति तय नभएपनि जतिसक्दो छिटो आउने बताइन् । उनले भनिन्, ‘म जतिसक्दो छिटो नेपाल आउँदैछु ।’ दशैं मनाएर जाने गरी नेपालमा बस्ने समेत बताइन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले भनिन्, ‘अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ ।’
यसअघि रवि लामिछानेले पारपाचुके गर्दा गरेको कानुनी प्रतिवद्धता पूरा नगरेको विषय उठिरहँदा इशा नेपाल आउने खुलाएकी हुन् । अमेरिकाको घरको ऋण नतिरेको र छोरीहरुको हेरविचारका लागि आवश्यक खर्च नव्यहोरेको विषय बाहिर आएको थियो ।
यसैगरी, इशाले विभिन्न स्रोतमार्फत् रवि लामिछानेकी पत्नी निकिता पौडेललाई बच्चाहरुको हेरविचारका लागि खर्च पठाउन दबाब दिएकी छिन् । खर्च नव्यहोरे नेपाल आएर कानुनी उपचार खोज्ने चेतावनी दिएकी छिन् ।
२५ वर्ष लामो वैवाहिक जीवन अन्त गर्दै रवि लामिछाने र इशा लामिछानेले गत वर्ष पारपाचुके गरेका थिए । उनीहरु विद्यालय जीवनमै प्रेममा परेका थिए आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन् । रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए ।