काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मूसा भन्दै गणतन्त्ररुपी पहाडलाई हल्लाउन नसक्ने बताए । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् मा विशेष अन्तवार्ता दिदै भने, ‘ज्ञानेन्द्रको के कुरा राजतन्त्रवादी मूसा भन्दा केही होइनन् ।’
मूसाले पहाडलाई प्वाल पार्न सक्ने तर भत्काउन या हल्लाउन नसक्ने खनालको तर्क थियो । उनले भने, ‘पहाडलाई मूसाले हल्लाउन सक्दैन, प्वाल पार्न सक्छ ।’ गणतन्त्र तीन करोड नेपालीले अनुमोदन गरेको पहाड भएकाले कदापि नहल्लने बताए ।
खनालले राजावादीलाई राजतन्त्र फर्काउन चुनौती समेत दिए । राजतन्त्र ल्याउन संसदमा दुई तिहाई मत ल्याउनुपर्ने भन्दै त्यति जनमत ल्याउन चुनौती दिए । संविधानबमोजिम दुई तिहाई ल्याए पद्धति बदल्न सकिने भन्दै राजावादीले दुई तिहाई मत ल्याएर संविधान बदलेर राजतन्त्र ल्याउनसक्ने ठाउँ रहेको बताए । संविधानसभाले बनाएको संविधानलाई मानेर चुनाव लडेर दुई तिहाई मत ल्याएर संविधान बदल्न सकिन्छ, खनालले भने, राजावादीका लागि त्यो बिल्कुल सम्भव छैन ।
९९ प्रतिशत जनता गणतन्त्रको पक्षमा छन् भन्दै जनतामत बुझेर निष्कर्ष निकालेर गणतन्त्र ल्याएको बताए । जनता गणतन्त्रको विपक्षमा छैनन् भन्दै औंलामा गनिने मान्छेहरु गणतन्त्रविरोधी भएको बताए । उनले भने,’राजतन्त्रका अवशेष, तुष, घाउ र खाटा बाँकी छन् । घाऊ कहिलेकाहीं चम्कन्छ ।’
नेपाल कम्युनिष्ट पार्टीमा आफू उमेर र पार्टी सदस्यका दृष्टिकोणले वामदेव गौतमभन्दा मात्र जुनियर भएको बताए । आफू महासचिव हुँदा माधवकुमार नेपाल समेत पोलिटब्यूरो सदस्य मात्र भएको बताए । पार्टीको विधि र विधान अनुसार आफू तेस्रो वरियतामा रहेको जिकिर गरे ।
पार्टीमा बाहिर आएको जस्तो कुनै विवाद नभएको खनालको भनाई थियो । उनले आगामी महाधिवेशनले पार्टीको नेतृत्व देखि यावत् विषय टुंगो लगाउने बताए । हेर्नुहोस् भिडियोः