Logo

राजावादी सक्रिय, जनअसन्तुष्टिलाई आफ्नो पक्षमा पार्ने दाउ



काठमाडौं । देशभर राजावादीले सक्रियता बढाएका छन् । राजनीतिक दलका केही नेताप्रतिको असन्तुष्टि आफ्नो पक्षमा माहोल बनाउन सक्रियता बढाएका हुन् ।

राजावादीसँग निकट संघसंस्था र पार्टी विशेष समेत नजिकिन थालेका छन् । उनीहरु दशैं तिहारलगत्तै विभिन्न कार्यक्रमका साथ प्रस्तुत हुने रणनीति बनाइरहेका छन् ।

पछिल्लो समय रवि लामिछाने पक्राउ प्रकरणलाई राजावादीले जनअसन्तुष्टिको मापन गर्ने अवसरका रुपमा लिए । लामिछानेको समर्थनकै लागि भन्दा पनि जनअपेक्षा अनुसार मुख्य दलका नेताहरुले काम गर्न नसक्दाको असन्तुष्टि सडकबाट व्यक्त भयो । कुनैपनि बेला बिष्फोटक अवस्था आउनसक्नेस्थिति देखापर्यो । कतिपय राजसंस्था समर्थक नेताहरुले लामिछाने पक्राउको विरोधमा आफ्नो मत जाहेर गरे । जुन उनीहरुको सामाजिक सञ्जालबाट समेत व्यक्त भयो ।

घटनाक्रम यसरी विकसित भयो कि राजावादीहरु निकै उत्साही हुने माहोल तयार भयो । वरिष्ठ अधिवक्ता तथा राजनीतिक विश्लेषक डा. टीकाराम भट्टराईले राजा आऊ रवि बचाऊ नारा लागेको भन्दै गम्भीर आशंकाहरु उत्पन्न भएको बताए । गणतन्त्र नै खतरामा परेको विश्लेषणहरु भए । पाका कम्युनिष्ट नेता चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको औल्याइसकेका छन् ।

प्रमुख दलहरुभित्र पनि राजावादी सक्रिय भइरहेको विषय जोडतोडले उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचारका लागि जानुअघि यो विषयतर्फ गम्भीर हुनुपर्ने बताए । तिव्र रुपमा बढेको जनअसन्तुष्टिका अलावा पूर्व राजाको ज्ञानेन्द्र शाहको सक्रियताले नयाँ माहोल तयार गर्ने अवस्था पैदा भएको छ । पूर्व राजाको थाइल्यान्ड आवतजावतलाई सरकारले गम्भीरताका साथ लिइरहेको छ । उनले बैंकक पुगेर राजनीतिक सक्रियता देखाउन खोजेको सूचनाका आधारमा ओली र प्रचण्डले चेतावनीको भाषा प्रयोग गरिसकेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले विदेश गएर शक्ति केन्द्रहरुसँग सम्पर्क राखेको चर्चा चल्दै आएको छ । उनी एक महिना नबित्दै बैंकक पुगेर लामो समय बसेका छन् । बैंककमा बाक्लो आवतजावतले अनेकन आशंका जन्माएको छ । विगतमा भारत निकै आउने जाने गरेका शाह पछिल्लो समय बैंकक आउने जाने गर्न थालेका छन् । उनको सक्रियताले गणतन्त्रका पक्षधर दलहरुलाई झस्काएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot