रिपोर्टर्स नेपाल । गणेशमान सिंहले सार्वजनिक रुपमै जनतालाई भेडा भनेका थिए । विशेषगरी शहरी जनताको शैलीतर्फ लक्षित गर्दै उनले भेडा भनेका थिए ।
भेडाको जात बथानमा अगाडिको जता लाग्यो बाँकी त्यतै लाग्छन् चाहे त्यो डरलाग्दो खाडल वा भीर नै किन नहोस् । उनको यो भनाईमा केही आक्रोश र केही यथार्थ मिश्रण थियो । कुरा राम्ररी नबुझी भीडको एकोहोरो एकैतर्फ लाग्ने भावनालाई लक्षित गरी गणेशमानले भेडा भनिदिए । कतिपयले उनको आलोचना समेत गरेका थिए ।
२०४६ को जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए । काँग्रेसले सर्वोच्च नेता बनाएको उनी अन्य दलका लागि पनि सर्वोच्च नेताका रुपमा सम्मानित थिए । सिंहले चुनावमा असल उम्मेदवारहरु पराजित भएको अनुभव गरे । पत्नी मङ्गलादेवी सिंह समेत पराजित भइन् । हुँदा हुँदा कृष्णप्रसाद भट्टराई समेत पराजित भए । सादगी त्यागी नेताको पराजय गणेशमान सिंहका लागि सह्य थिएन ।
कुनैबेला जनताले नानीमैयाँ दाहाललाई अत्याधिक मतले जिताएका थिए । दाहाल मुखमा जे आयो त्यही बोलेर अराजक नेताको पहिचान बनाउन सफल थिइन् । उनको चर्चा यति चुलिएको थियो कि देशको नेतृत्व नै उनले गरे हुन्थ्यो जस्तो गर्थे त्यतिबेला काठमाडौंवासी । नानीमैयाँ जस्तो अराजक नेतालाई चुनाव जिताउनेले कृष्णप्रसाद भट्टराई जस्ता विद्धान र अन्तर्राष्ट्रिय उचाई बनाएका नेताको पराजयका कारण पनि गणेशमान सिंहले जनतालाई भेडा भनिदिए ।
सिंहले भनेजस्तै व्यवहार नेपाली राजनीति र समाजमा देखापरिरहने गरेको छ । एकोहोरो कसैको देवत्वकरण र राक्षसीकरणमा लागेका छन् सर्वसाधारण ।