Logo

राजपा नेपालमा विवाद चुलियो, महतो र भण्डारी समाजवादी पार्टीमा जाने



काठमाडौं, १२ भदौ । राजपा नेपालको राजनीतिक समितिको बैठक भोलिबाट सुरु हुँदैछ । तर, बैठकको मुखमा पार्टीभित्र अध्यक्ष मण्डलका केही सदस्यहरु भने पार्टी नै छोड्नेसम्मको तयारीमा जुटेका छन् ।

अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी वर्तमान अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवसँग रुष्ट बनेका छन् । महतो र भण्डारी राजपा छोडेर उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको उनीहरुनिकट स्रोतको दाबी छ ।

हिजोमात्रै, भण्डारीनिकट महासचिव केशव झाले भोलि र पर्सी क्रमशः भदौ १३ र १४ गतेको लागि बोलाईएको बैठक नै अवैधानिक भएको भन्दै तत्काल बैठक स्थगित् गर्नुपर्ने बताएका थिए । उनले अध्यक्ष मण्डलका सदस्यहरुसँग छलफल नगरी बोलाईएको बैठकले पार्टीलाई गतिशिल बनाउनुको साटो झन अप्ठ्यारो र विवादको भूमरीमा फसाउने संकेत गरेका थिए ।

यसअघि पनि राजपा र समाजवादी पार्टीबीच एकताको प्रयास भने चलेको थियो । यसको लागि महतोले विशेष जिम्मेवारी बहन गर्दै राजपाबाट काम गरेका थिए । यो बीचमा महतो र समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवबीच धेरै पटक भेटवार्ता भएका छन् । सिँगो राजपा एकता गराउन नसकेपनि आफूलगायत केही प्रभावशाली नेताहरु समाजवादी पार्टीमा प्रवेश गर्नेसमेतको आश्वासन नेता महतोले दिएको बुझिएको थियो ।

अहिले उनको साथमा अर्का अध्यक्ष मण्डलका सदस्य भण्डारीपनि उभिएका छन् । महतो र भण्डारीमात्रै नभएर अर्का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवपनि वर्तमान संयोजक राजकिशोर यादवको कार्यशैलीलाई लिएर सशंकित छन् ।

राजपाभित्र एकथरीले कांग्रेसँग सहकार्य गर्नुपर्ने आवाज उठाईरहेका छन् भने अर्कोथरिले मधेशी जनताको मर्म र भावनाअनुसार पनि उपेन्द्र नेतृत्वको समाजवादी पार्टीसँग एकता गरेर जानुपर्छ भनेर चर्को आवाज उठाईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्