सरकारले बन्द मलेसिया रोजगारी खुलाउने भएको छ । दुवै मुलुकबीच हुन लागेको दोस्रो प्राविधिक कमिटीको बैठक यही भदौ २४ र २५ गते मलेसियाको क्वालालम्पुरमा बस्ने भएको हो । पहिलो प्राविधिक कमिटीको बैठक काठमाडौंमा बसेको थियो ।
नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक/एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्यौल अन्त्य गर्ने र “मोडालिटी” तय गर्ने छ ।
नेपाल र मलेसियाबीच कात्तिकमा भएको श्रम सम्झौताअनुरुप नेपाली कामदार मलेसिया जाँदा निःशुल्क जान पाउनेछन् । सम्झौताअनुरुप नेपाली कामदार मलेसिया जाँदा लाग्ने सेवा शुल्क, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्क, दोहोरो हवाइ टिकट शुल्कलगायतका शुल्क सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्ने हुन्छ । मलेसिया जाने कामदारको करार अवधि भने दुई वर्षको हुनेछ । मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब नहुने तथा अतिरिक्त काम गरेबापत थप पारिश्रमिक र भत्ता एवं सुविधा समेत प्राप्त गर्नेछन् ।
गत वर्ष २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारीको नाममा धेरै ठगी गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा रोक लगाएका थिए ।