Logo

बाबुरामलाई उपेन्द्रको जवाफ : सरकार त मरेपनि छोड्दिन, समय भएको छैन



काठमाडौं, १२ भदौ । सत्तारुढ दल समाजवादी पार्टीभित्र सरकार छोड्ने वा नछोड्ने भन्नेबारे शीर्ष नेताहरुबीच नै मतभेद चुलिएको छ । हिजोदेखि सुरु भएको पदाधिकारी बैठकमा पनि यस विषय विशेष महत्वका साथ प्राथमिकता पाएको थियो ।

नयाँ शक्ति पार्टीसँग एकता गरेपछि नै सरकारमा बस्न नहुने भनेर संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जोडदार रुपमा आवाज उठाएका थिए । तर, त्यतिवेला सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीको रुपमा सहभागी अध्यक्ष उपेन्द्र यादवले अहिले त्यस विषयमा कुरा नगरौं भनेर टारेका थिए ।

संविधान संशोधन गराउने मूल उद्देश्यसहित सरकारमा सहभागी भएका यादव अझैपनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संविधान संशोधनबारे आशावादी छन् ।

जारी पदाधिकारी बैठकमा बाबुरामले सरकारबाट जतिसक्दो चाँडो पार्टी बाहिरिनुपर्नेबारे अध्यक्ष यादवको ध्यानकार्षण गराएका थिए । भट्टराईले सरकारमा सहभागी भैरहे पार्टीलाई भविष्यमा ठूलो क्षति हुनेपनि खतरा औंल्याएका छन् । बाबुरामसँग उपेन्द्रले तत्काल आफू सरकार छोड्ने पक्षमा नरहेको कडा जवाफ दिएका थिए ।

उपेन्द्रले बाबुरामलाई भनेको भनाई उल्लेख गर्दै स्रोतले भन्यो,‘म तत्काल सरकार छोड्न सक्दिन् । अरु सबै कुरा गर्नुहोस, म मान्न तयार छु । तर, अहिले सरकार छोड्ने समय भएको छैन् । दबाब नदिनुहोस ।’ उता बाबुरामले जति लामो समय सरकारमा बस्छौं त्यति नै पार्टी जनतामा अलोकप्रिय हुने दाबी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्