काठमाडौ।
‘अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा ।
यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो ।।’
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको १५४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । राष्ट्रिय विभूति समेत रहेका भट्टको जन्म १ सय ५३ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात कुशे औँशीकै दिन काठमाडौंको भोसिको टोलमा भएको थियो ।
नेपाली साहित्यका प्रणेता भट्ट तीस वर्षकै अल्पायुमा अस्ताए पनि गजल साहित्यका क्षेत्रमा उनको योगदानको कदर स्परुप कथा, नाटक र निबन्ध र रचनाका माध्ययबाट आज नेपाली सृष्टाले उनलाई सम्झदै आएका छन ।
थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए । भानुभक्तका फुटकर कविता र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जिवनी पनि मोतीरामले नै लेखेका हुन् ।
दरबार हाइस्कूलमा राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् उनी उर्दू भाषाका नाटक समेत उनले योगदान पु¥याउन सफल रहे ।
भारत बसाईको क्रममा उनले साहित्यसंगै नेपाली पत्रकारिताको पनि सुरुवात गरेका थिए । बिक्रम सम्बत १९४५मा बनारसबाटै नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशन तथा व्यवस्थापन गर्नमा उनको अतुलनिय योगदान रहेको मानिन्छ ।
मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायत उनका कृतिहरु आज पनि उत्तिकै उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारले गरिरहेकोे पाईन्छ ।