Logo

अस्वस्थ शक्तिशाली प्रधानमन्त्री



समाचार विश्लेषण । गिरिजाप्रसाद कोइराला २०६२/६३ को जनआन्दोलनपछि निकै शक्तिशाली भए । तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई समेत पेलेर जानसक्ने क्षमता बनाए । राष्ट्राध्यक्षको हैसियतमा देवीदेवताको मन्दिरसम्म पुगे । कोइरालाको भारत भ्रमणका क्रममा तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह पोर्टफोलियो मिचेर इन्दिरा गान्धी विमानस्थ्लमा स्वागतका लागि आफै पुगे ।

यो तहसम्म राजनीतिक रुपमा शक्तिशाली कोइरालाको स्वास्थ्य कमजोर थियो । उनलाई स्वासप्रस्वासको रोग लागिसकेको थियो । बेला बेलामा अक्सिजन लिनुपथ्र्यो । त्यसैले प्रधानमन्त्रीका रुपमा उनी सिंहदरबार कमै आउँथे । बालुवाटारबाट देश चलाउँथे । नेपाली काँग्रेसको बैठक पनि बालुवाटारमा राख्थे । क्याबिनेट बैठक पनि क्याबिनेटमा राख्थे ।

सुशील कोइराला पनि स्वस्थ थिएनन् । सादगी नेता प्रधानमन्त्री बन्दा स्वास्थ्यले पटक पटक साथ दिएन । क्यान्सरको उपचार गराइसकेका उनी विरामी परिरहन्थे । खुबै हेरचाह गर्नुपथ्र्यो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली छन् । उनीसँग संसदको दुई तिहाई समर्थन छ । पार्टीमा अध्यक्ष बनेका उनको जताततै प्रभाव बलियो छ । नेपालको लोकतान्त्रिक इतिहासमा शक्तिशाली प्रधानमन्त्रीमध्येका एक भएका छन् ओली । तर, ओलीकै स्वास्थ्य खराब छ । शक्तिशाली प्रधानमन्त्रीको कमजोर स्वास्थ्य अवस्था छ ।

१२ वर्ष अघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेयता ओलीको स्वास्थ्यमा समस्या नै छ । तर, यसपटक उनको स्वास्थ्यको संवेदनशीलताबारे चर्चा परिचर्चा भइरहेको छ गत महिना ओली उपचारका लागि सिंगापुर पुगेका थिए । निर्धारित समयभन्दा बढी नै सिंगापुर बसे । देश फर्किएपछि उनले आफू स्वस्थ रहेको दाबी गरे । तर, फर्किएको १० दिन नबित्दै पुनः सिंगापुर गए ।

ओली सिंगापुरमा चेकजाँच गराइरहेका छन् । उनको स्वास्थ्योपचारले समय लिने देखिएको छ । जाँदाजाँदै आफू स्वस्थ भएर फर्कने बताए । आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भने जँगिए । नेपालले आफ्नो स्वास्थ्य अवस्थाबारे भ्रम फैलाउन लगाएको सम्मको आरोप लगाए । सिंगापुर जानुभन्दा अघि सिंहदरबारमा पुगेर आफूलाई मरिहालोस् जस्तो गर्नेहरु भएको दाबी गरे ।

ओली जतिसुकै बलियो प्रधानमन्त्री भएपनि उनको स्वास्थ्यवस्थाका कारण राज्य संचालनमा चुनौतीहरु देखिएका छन् । प्रधानमन्त्री जस्तो महत्वपूर्ण व्यक्ति लामो समय विदेशमा बसिरहनुपर्ने अवस्था छ । त्यसमाथि उनले शक्ति र अधिकार कार्यवाहक प्रधानमन्त्री इश्वार पोखरेल वा अरु कसैलाई दिएका छैनन् । शक्तिशाली तर कमजोर स्वास्थ्य अवस्थाका प्रधानमन्त्री बनेका छन् ओली । यसले उनको कामकारबाहीमा चुनौती र त्रुटीको सम्भावना उत्तिकै छ । देशको प्रधानमन्त्री बन्न स्वस्थ व्यक्ति हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न समेत उठेको छ ।

देशमा सिपाही, प्रहरी, कर्मचारी हुन स्वस्थ हुनुपर्छ । तर, मुख्य व्यक्ति स्वस्थ हुनुपर्छ कि पर्दैन ? यो प्रश्न उठेको छ । ओलीप्रति सबैको सहानुभूती स्वाभाविक हो । उनको स्वास्थ्योपचारको कामना गर्नु आवश्यकता पनि हो । तर, भावुकताले देश चल्दैन । देश चलाउन शारीरिक र मानसिक दुवै रुपमा शक्तिशाली व्यक्ति चाहिन्छ । जुन नेपालले सायदै भेट्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्