काठमाडौं, १४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन जारी गरेको छ । उसले जारी गरेको उक्त निर्देशनमा पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशव्यापी विशेष अभियान सन्चालन गर्ने कुरा उल्लेख गरिएको छ ।
त्यस्तै, पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको ‘अन्तरपार्टी निर्देशन–२’ मा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने पनि उल्लेख छ । अन्तरपार्टी निर्देशनमा अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सन्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सन्चालन गर्ने उल्लेख छ ।
नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपूर उपभोग गर्न निर्देशन दिएको छ । तर, सार्वजनिकरुपमा नेतृत्व र नीतिको विरोध गर्न बन्देज लगाएको छ । पार्टीको नीति एवं नेतृत्वकाविरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाइने ‘सर्कुलर’मा उल्लेख छ ।
निर्देशनमा नेकपाले एकीकरण प्रक्रिया बाँकी रहेका जिल्ला कमिटीहरुको एकता छिटो सक्न निर्देशन दिएको छ । निर्देशनमा एकता प्रक्रियाका क्रममा अहिलेसम्म टुंगिएका विषयहरुबारे जानकारी गराइएको छ । त्यस्तै, जनवर्गीय संगठनहरूको संगठनको विधान, कमिटी सदस्यहरूको छनोटलगायतका विषयमा प्रस्ताव तयार गर्ने जिम्मेवारी इन्चार्ज, सह–इन्चार्ज तथा संयोजक, सहसंयोजकहरूलाई दिइएको जानकारी गराउँदै यसका लागि सम्बन्धित नेता–कार्याकर्ताहरुलाई महाससचिव विष्णु पौडेलसित सम्पर्क गर्न भनिएको छ ।