Logo

एक वर्षमा हामीले कुनै चमत्कार गर्न सकेनौं : मन्त्री यादव (भिडियोसहित)



काठमाडौं, १४ भदौ । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले विकास निर्माणका कामलाई तिव्रताका साथ अघि बढाएको स्पष्ट पारेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । सरकारले यो एक वर्षमा कुनै चमत्कार भने गर्न नसकेको मन्त्री यादवले स्विकार गरे ।

मन्त्री यादवले डेंगु नियन्त्रणको लागि आम रुपमा नै लाग्नुपर्ने पनि बताए । पानीको फोहोर जमेको ठाउँबाट लार्भा बन्ने र त्यहीबाट डेंगु बन्ने भएकोले यसप्रति सबैको सक्रिय सचेतना आवश्यक रहेको उनको भनाई छ । सरकारले आफ्नो सम्पूर्ण साधन र स्रोत प्रयोग गरेर यसको नियन्त्रणमा उल्लेखनीय काम गरेको पनि मन्त्री यादवको दाबी छ ।

तर, डेंगुको संक्रमणबाट बच्नको लागि मिडिया जगतले पनि पहलकदमी गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, डाक्टरले लामखुट्टे खोज्दै गरेर दौडिने कुरा त आउँदैन् । यो रोग नेपालमा मात्रै होईन, हाम्रो भन्दा धेरै विकसित देशमा पनि डेंगुले हैरान पारेको छ ।

आफूहरु अहिलेपनि प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको पक्षमा रहेको सुनाउँदै यादवले संघीय व्यवस्थालाई मजबुद बनाउनको लागि प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले नेपालको संविधान त्रुटिपूर्ण र विभेदकारी रहेको सुनाए । उनले भने,यसले सम्पूर्ण नेपाली, सबै समूदायलाई समेट्न सकेको छैन् । एकल जातीय प्रवृत्ति ज्यादा छ भन्ने कुरा त हामीले संविधान घोषणा भएकै दिन भनिसकेका छौं ।

उनले आफ्नो पार्टीले अहिलेसम्म संविधान दिवसलाई कालो दिवस वा गोरो दिवस कुनैपनि दिवसको रुपमा नमनाएको स्पष्ट पारे । उनले भने, संविधान दिवस मनाउने वा नमनाउने भन्दापनि, हामीमा त्यति खुशी र उत्साह छैन् । यो संविधानका कारण मधेश र मधेशी जनतामा त्यति उत्साह देखिँदैन् ।



प्रतिक्रिया दिनुहोस्