Logo

सिंगो गाउँपालिकामा दुई कर्मचारी



काठमाडौं १५ भदौ । पुथाउत्तरगंगा गाउँपालिकामा ६१ कर्मचारीको दरबन्दी छ । तर, अहिले प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षेत्री र सहायक महिला विकास निरीक्षक वसन्ता ओली मात्र कार्यरत छन् । गत आर्थिक वर्षभरी ४ जनाले गाउँपालिकाको काम धानेका थिए । तीमध्ये दुई कर्मचारी अन्यत्रै समायोजन भएका छन् ।

गाउँपालिका मात्रै होइन, वडा कार्यालय तथा कृषि र पशु शाखा पनि पूरै खाली छन्। १० नम्बरका वडा सचिव उदिराम रोकाले समायोजनपत्र बुझिसके। संघ लगिएका लेखापाल शिवराम खड्का काजमा बसेर पत्र पर्खिरहेका छन्। ‘दरबन्दीअनुसारका हामी २ जना मात्रै छौं,’ प्रमुख प्रशासकीय अधिकृत बुढाक्षेत्रीले भने, ‘उदिराम रोका गइसक्नुभयो, लेखापाल जाने तयारीमा हुनुहुन्छ।’ पुथाउत्तरगंगा जिल्लाकै ठूलो स्थानीय तह हो। यसमा १४ वडा छन्। चालु आर्थिक वर्षमा वडा, विषयगत शाखासहित सबभन्दा कम दुई जना कर्मचारीमा सीमित भएको बुढाक्षेत्रीको भनाइ छ।

कर्मचारी नभएपछि सेवाप्रवाहमा समस्या परेको गाउँपालिकाले जनाएको छ। कामकाज सजिलो बनाउन करारमा केही कर्मचारी नियुक्त गरिए पनि त्यसबाट उपलब्धि हुन नसकेको बुढाक्षेत्रीले बताए। १४ वटै वडा सचिवविहीन बन्दा विशेष गरी पञ्जीकरणको काम प्रभावित छ। सजिलोका लागि स्वास्थ्य चौकी इन्चार्जलाई पञ्जीकरण गर्ने अधिकार दिइएको छ।

पञ्जीकरणका लागि सर्वसाधारण वडा कार्यालय नभई स्वास्थ्यचौकी गइरहेका छन्। ‘दुर्गम भनेर हो कि किन हो कुन्नि, कर्मचारी छैनन् भनेर हामीलाई स्वास्थ्यचौकी पठाइन्छ,’ पुथाउत्तरगंगा–९ का मनबहादुर बुढाले भने, ‘बिहे, जन्म, मृत्यु दर्ताका लागि जनता स्वास्थ्यचौकी जानुपरिरहेको छ।’ वडामा रहेका करारका सहायक कर्मचारीले तयार पारेको प्रमाणपत्रमा सही गराउन फेरि स्वास्थ्यचौकी पुग्दा सेवा ढिलो भइरहेको उनले बताए।

विकल्प नभएपछि स्वास्थ्यचौकी इन्चार्जलाई पञ्जिकाधिकारीको अधिकार दिइएको उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन्। कर्मचारी नआउने र आए पनि अन्यत्र जाने समस्या उनले औंल्याइन्। साविकका ६ वटा गाविस मिलाएर बनाइएको गाउँपालिकाभरी ६ वटा स्वास्थ्यचौकी छन्।

तिनै चौकीका इन्चार्जले १४ वटा वडाको पञ्जिकाधिकारीको काम गरिरहेका छन्। १ देखि ४ नम्बर वडाको मैकोट स्वास्थ्यचौकी इन्चार्ज समीर गिरी, ५ र ६ नम्बर वडाको स्वास्थ्यचौकी हुकामका इन्चार्ज उमेश पण्डित, ७, ८ र ९ नम्बर वडाको पञ्जिकाधिकारीको जिम्मेवारी स्वास्थ्यचौकी जाङका इन्चार्ज रामप्रताप महतोलाई दिइएको छ। त्यस्तै १० र ११ वडाको जिम्मेवारी स्वास्थ्यचौकी तकसेराका इन्चार्ज नरबहादुर ओली, १२ र १३ नम्वर वडाको प्राथमिक स्वास्थ्य केन्द्र कोलका जनस्वास्थ्य निरीक्षक वशिष्टनारायण यादव र १४ नम्वर वडाको जिम्मा स्वास्थ्यचौकी राङसीका इन्चार्ज नरेन्द्र विष्टलाई दिइएको छ।

समायोजन भएर पनि यहाँ कर्मचारी आएका छैनन। यहाँबाट समायोजन भएर अन्यत्रै गए पनि लोकसेवा आयोगले कर्मचारी पठाउनेछैन। पुथाउत्तरगंगाका लागि पछिल्लो पटक भएको लोकसेवा आयोगको परीक्षामा विज्ञापन गरिएको छैन। गाउँपालिकाले कर्मचारी नमागेपछि लोकसेवाले विज्ञापन नगरेको हो।

कार्यपालिका बैठक नबसेका कारण आयोगसँग कर्मचारी माग्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत बुढाक्षेत्रीले बताए। अबको विज्ञापनमा कर्मचारी माग्ने गरी तयारी गरिएको उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot