Logo

पशुपतिमा तीजको रौनक, दर्शनार्थीको घुइँचो (फोटोफिचर)



काठमाडौं, १६ भदौ । आज हिन्दु नारीहरुको महान पर्व तीज हो । देशैभरि तीजको रौनकता छाएको छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा देशभरका मन्दिरमा पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेर रमाइलो गर्नमा महिलाहरु व्यस्त छन् ।

तीजको व्रत बस्ने भक्तजनले उमामहेश्वरका नामले समेत चिनिने शिव-पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहारा व्रत बसी महादेवको पूजा आराधना गरेपछि पतिका रुपमा प्राप्त गरेको विषय पौराणिक ग्रन्थमा व्याख्या गरिएको छ ।

पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ भने पूजापछि नाचगान भइरहेको छ । रंगिबिरंगी पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा लर्को छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएको छ । साना बालबालिकालाई पनि मन्दिरमा नल्याउन पनि कोषले अनुरोध गरेको छ ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बरप्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायका सवारीलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्