Logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने !



काठमाडौं, १६ भदौ । निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल नबन्ने पक्का भएको छ । रुख काट्दा ठूलो वातावरण तथा पर्यावरणीय क्षति हुने भएकोले प्रदेश सरकारले अहिलेकै अवस्था र लोकेसनमा विमानस्थल बनाउन नदिने चेतावनी दिएको छ ।

प्रदेश नम्बर २ का वनमन्त्री रामनरेश राय यादवले यथास्थितिमा उक्त विमानस्थल बनाउन नदिने चेतावनी दिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने, अहिलेको अवस्थामा हामी कुनैपनि हालतमा निजगढमा विमानस्थल बनाउन दिँदैनौं । निजगढमा बनाईयो भने यहाँको वन नै सिधिन्छ । बरु, अर्कै ठाउँमा बनाउनेगरि केन्द्र सरकारले प्रस्ताव ल्यायोस हामी सोच्छौं ।’

मन्त्री यादवले आफूहरु कुनैपनि हालतमा रुख काट्न दिने पक्षमा नरहेको जिकिर गरे । उक्त क्षेत्रमा हजारौं हेक्टर खाली जग्गा भएपनि रुख नै कटानी गरेर विमानस्थल बनाउनु उपयुक्त नभएको उनको दाबी छ । प्रदेश सरकारसँग कुनै परामर्श नगरी विमानस्थल बनाउन खोजिएको भन्दै मन्त्री यादवले असन्तुष्टि जनाए ।

निजगढ विमानस्थलका बारे प्रदेश सरकारसँग कुनै परामर्श अथवा छलफल भएको छैन। उनले भने,‘हाम्रो प्रदेशमा बन्न लागेको विमानस्थलका बारे हाम्रो प्रदेशको सरकारलाई थाहा छैन। हामीले पनि मिडियाबाट सुन्दैछौं कि निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाइँदैछ। जसका, लागि २५ लाखभन्दा बढी रुख कटानी गरिदैछ।’

विकासको नाममा प्रदेश २ लाई विनाश गर्ने षड्यन्त्र केन्द्र सरकारले गरिरहेको उनको गम्भिर आरोप छ । उनले भने,‘अरु छ वटा प्रदेशको तुलनामा सबैभन्दा कम जंगल हाम्रो प्रदेशमा छ। त्यसमा पनि यति ठूलो संख्यामा रुख कटानी भयो भने प्रदेश २ लाई मरुभूमिकरण हुनबाट कसैले रोक्न सक्दैन। सँधै मधेशलाई अपहेलना गरेको केन्द्र सरकारले यो विमानस्थल निर्माण गरेर मधेशलाई मरुभूमिकरण गर्न खोज्दैछ।’



प्रतिक्रिया दिनुहोस्