Logo

संसदीय समितिका सभापतिको गाडीमा प्राविधिक समस्या



काठमाण्डौ । संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रिएको थियो । महंगा गाडी छिटै विग्रिएपछि कम गुणस्तरका गाडी ल्याइएको हो कि भन्ने आशंका उब्जिएको थियो । यससम्बन्धमा संसदले छानविन गरेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा केहि गाडीमा प्राविधिक समस्या देखिएको ठहर गरिएको छ ।

संसदका ११ वटा समितिका सभापतिले साउन ८ गते पाएका स्कार्पियो गाडीमा समस्या देखिएको थियो । ति गाडी सजिलै स्टार्ट नहुने, बढी कराउने, झ्याल नलाग्ने जस्ता समस्या देखिएको थियो ।

संसद् सचिवालयले संसदीय समितिका सभापतिका लागि ११ वटा स्कार्पियो गाडी महिन्द्राको नेपालस्थित अधिकृत विक्रेता अग्नि इन्कर्पाेरेट प्रालिसँग खरिद गरेको थियो । एक महिनामै गाडी बिग्रिन थालेपछि स्टक गाडी खरिद गरिएको हुन सक्ने भन्दै संसदले छानविन समिति बनाएको थियो ।

प्रत्यायोजित व्यवस्थापन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले मंगलबार प्रतिवेदन सभामुख कृष्ण बहादुर महरालाई बुझाएको हो । प्रतिवेदनमा खरिदमा कुनै अनियमितता नभएको तर गाडीमा प्राविधिक समस्या देखिएको उल्लेख गरिएको छ ।

छानबिन समितिका सभापति बिडारीले गाडी खरिदमा कुनै अनियमता नदेखिएको बताएका हुन् । उनले केहि गाडीमा मात्र प्राविधिक समस्या देखिएको र बिक्रेतालाई सात दिन भित्र मर्मत गर्न भनिएको बताए । तोकिएको समयमा पनि गाडी मर्मत नगरे कानूनबमोजिम कारवाही गर्न सुझाव दिइएको उनले बताए ।

छानबिन समितिले गाडी खरिदबारे थप निर्णय गर्ने अधिकार सभामुखलाई नै दिएको छ । प्रतिवेदन बुझ्दै सभामुख महराले समितिको प्रतिवेदन अध्ययन गरेपछि कार्यान्वयन गरिने बताएका छन् । उनले छिटै उक्त प्रतिवेदन सार्वजनिक गरिने पनि बताए ।

संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो गाडी प्रयोगमा आएको एक महिनामै बिग्रन थालेपछि सभामुख महराले पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । समितिमा सांसदहरू कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल, भरत कुमार शाह र तारादेवी भट्ट सदस्य रहनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot