काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले टिभी प्रस्तोता रवि लामिछाने पक्राउ पर्दा चितवनमा राजावादीहरुले ठूलो साथ दिएको दाबी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् ।
उनले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको बारेमा के भने ? भनेर कुनै महत्व नराख्ने जिकिर गरे । उनले भने, प्रचण्ड बोलक्कड मान्छे हो । उनले के भने भनेर कुनै महत्व राख्दैन् ।’ त्यस्तै उनले नेकपाको सरकारले कुनै पनि हालतमा विकास र समृद्धि हासिल गर्न नसक्ने ठोकुवा समेत ठोकुवा गरेका छन् । लोहनीले सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गरेको जिकिर गर्दै विकास गर्न नसक्ने बताएका हुन् । सत्तारुढ दल नेकपाले नै देश विगारेको आरोप लगाउँदै उनले केपी ओली नेतृत्वको सरकारलाई नालायक भनेका छन् । लोहोनीले प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालकोसमेत सम्पत्ति छानविन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी अहिलेका मन्त्रीहरु सबै भ्रष्ट भएको उनले बताए । अकुत सम्पत्ति कमाउने सबैलाई जेल हाल्नुपर्छ भन्दै उनले अख्तियारले खुट्टा कमाउन नहुनेमा जोड दिए । लोहनीले अब देशमा राजसंस्था ल्याउनुपर्ने र हिन्दुराष्ट्र बनाउनुपर्ने पनि बताएका छन् ।