Logo

‘शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउनुहुँदैन’



काठमाडौं, १८ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शैक्षिक क्षेत्रलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुनेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज यहाँ आयोजित १०औँ वार्षिक साधारणसभा तथा ३३औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले विद्यालय र क्याम्पस राजनीतिक भर्ती केन्द्रको रुपमा विकास भइरहेका कारण शिक्षा क्षेत्र धरासायी हुँदै गएको बताए ।

राजनीतिक आस्थाका आधारमा विद्यालय र क्याम्पसमा पदाधिकारी र प्राध्यापक नियुक्त हुने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, “शिक्षा क्षेत्रमा राजनीतिक आस्था हेर्नु हुँदैन, क्षमता हेर्नुपर्छ तबमात्र शैक्षिक विकास सम्भव हुन्छ ।”

आवश्यकताको आधारमा मात्रै शिक्षण संस्था खोल्नुपर्नेमा नेताको लहर, अहङ्कार र अस्वस्थ प्रतिस्पर्धाले अन्धाधुन्ध विद्यालय र क्याम्पस खोल्ने प्रवृत्ति बढेकाले त्यसले समाजलाई बोझ थोपरेको चर्चा गर्दै उनले जोड दिए, “यसको अन्त्य नभएसम्म हाम्रो समाजको उत्थान पनि राम्रो हुँदैन र शिक्षाको गुणस्तर पनि वृद्धि हुन सक्दैन ।”

यस क्याम्पसले उल्लेख्य प्रगति हासिल गर्न गरेकामा खुशी व्यक्त गर्दै उनले समुदायले पनि यति राम्रोसँग क्याम्पस चलाउन सक्ने रहेछ भन्ने उदाहरण आदिकविले प्रस्तुत गरेको छ भने । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले यस क्याम्पसले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले यसको विस्तार र विकासका लागि प्रदेश सरकारको सहयोग रहने बताए ।

प्रदेश सभासद् केदार सिग्देल आशा कोइराला, डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले विद्यार्थी, अभिभावक र प्राध्यापकको लगावका कारण क्याम्पसले सफलता प्राप्त गरेको र अब यसमा प्राविधिक शिक्षा थप गर्नुपर्ने आवश्यकता औँल्याए ।



प्रतिक्रिया दिनुहोस्