Logo

ओली कमजोर भए, अब विश्राम लिनुपर्छ : गगन थापा



काठमाडौं, १८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पदबाट विश्राम लिन सुझाव दिएका छन् । बुधबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका सांसद थापाले प्रधानमन्त्री ओलीलाई धेरै धपेडी नगर्न आग्रह गरे । उनले प्रधानमन्त्रीको कार्यबोझ बढाइएको तर शारीरिक स्वास्थ्य अवस्था भने कमजोर भएको बताए । उनले भने,‘इच्छाशक्ति भए पनि प्रधानमन्त्रीले आफूमाथिको दायित्व पूरा गर्न सक्नुभएन ।’ उनले नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सरकारले संसदलाई जानकारी नगराएको प्रति पनि उहाँले गम्भीर ध्यानाकर्षण गराए । उनले भने,‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौँ रु बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौ । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौँ ?’

उनले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले नेकपाको बहुमत रहेको र प्रधानमन्त्री छान्न पनि सजिलो भएको भन्दै अस्वस्थ भएका प्रधानमन्त्रीलाई विश्राम दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्