काठमाडौं । सरकारी सञ्चार माध्यममा कार्यरत सञ्चाकर्मीलाई बिना कारण जागिरबाट निकालिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले रेडियो नेपालका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको छ।
रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत सञ्चाकर्मीलाई बिना कारण कुनै जानकारीसम्म नदिइ जागिरबाट निकालिएकाले पुर्नवहालीको माग गर्दै नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत कार्यकारी निर्देशकलाई ज्ञापनपत्र पठाएको हो।
लामो समयदेखि सरकारी सञ्चार माध्यम रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरुलाई बिना कारण जागिरबाट निकाल्नुले विभिन्न समयमा विभिन्न तवरबाट पत्रकार माथि हुने पीडा माथि झनै पीडा थपिएको महसुस भएको जनाउँदै प्रेस युनियन डडेल्धुराले पुर्नवहालीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत रेडियो नेपालका कार्यकारी निर्देशक सिहदरबार काठमाडौं र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीलाई ज्ञापनपत्र पठाएको हो।
रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायल डोटीमा कार्यरत नेपाल प्रेस युनियन डोटी शाखा अध्यक्ष प्रकाशबहादुर बम, उपाध्यक्ष चक्र कुँवर र केन्द्रिय पार्षद सुनिता रावललाई विना कारण जागिरबाट निकालिनु रेडियो नेपालको इतिहास तथा पत्रकारिताको इतिहासमा सबै भन्दा दुखदायी र आततायी घटनाको रुपमा लिएको भन्दै पुर्नवहालीको माग गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष धनबहादुर भण्डारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ।