Logo

विदेशको दुःख दियो स्वदेशमा लाखौँको आम्दानी



–सुरेन्द्र भण्डारी

काठमाडौं । वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् ।

अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स युएई र मलेशिया बसे ।

विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन् । योसँगै उनले उन्नतजातका बाख्रा पनि पाल्न थालेका छन्। २० लाख रुपैयाँ लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएका छन् । उनको फार्ममा अहिले ९७० कुखुरा छन् ।

लेयरजातका कुखुरा पालेका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन । कुखुरासँगै उनले २० उन्नतजात जमुनापारी, बोयरका बाख्रा पालेका छन्।

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन् । श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उनले व्यवसाय थालेका हुन् । विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ ।

“खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भने । उनले २२ माउ उन्नतजातका बाख्राबाट व्यवसाय सुरु गरेका हुन। “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो । अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले सुनाए ।

यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिुरहेका छन । उनले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पाल्दै आएका छन । उनको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ । उनी मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गरिरहेका छन् ।

“दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले सुनाए। उनी पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब बसेर फर्किएका मध्येमा एक हुन । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उनले सुनाए । स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहेका छन।

कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् ।

विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उनीहरु प्रतिनिधि पात्र मात्रै हुन। उनि जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा सञ्चालन गर्दे आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot