काठमाडौं, १९ भदौ । अवैध लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कलंकी बस्ने नुवाकोट देवीघाट घर भएका विक्रम काफ्ले रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका १४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम सहित १८ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यसैगरी,ललितपुरको गोदावरी नगरपालिका १२ धापाखेलबाट ललितपुर ठेचो बस्ने सुनसरी घर भएका अनुप राउत समेत चार जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय आठ ट्याब्लेट सहित १८ भदौको बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका १० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर आठ सय ग्राम सहित बैजनाथ गाउँपालिका २ चिसापानी बस्ने धीरेन्द्र रोकायलाई १८ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले भे.८ प ७९५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
सर्लाही, मलंगवा नगरपालिका ८ गोरखकालीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७ सय ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिन ३० थान सहित नुवाकोट सूर्यगढी नगरपालिका २ बस्ने सुजन गुरुङ र सुजन तामाङलाई १८ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्दा भारत सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेको जनाएको छ ।
मोरङ, विराटनगर महानगरपालिका १४ बाट नियन्त्रित लागूऔषध एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र लुप्रिजेसिक ५० एम्पुल सहित भारत जोगवनी बस्ने मोहमद करिम अन्सारीलाई १७ भदौको साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा शरीरमा लुकाइछिपाई ल्याउँदै गरेको उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।