काठमाडौं, १९ भदौ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले गौहत्यो विषयलाई सरकारलाई ज्ञापनपत्र बुझाएको छ। समितिले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पुगेर ज्ञापनपत्र बुझाएको हो । हालै नेपालगञ्जबाट दैलेख लाने क्रममा सयौंको संख्यामा गाईहरुलाइृ भीरबाट खसालेर मारिएको घट्नाप्रति समितिले घोर आपत्ति जनाएको छ ।
ज्ञापनपत्रमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्रीज्यू, यस्तो पवित्र गौमातालाई भीरबाट लडाएर हत्या गर्ने दोषीहरुलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ त्यस्तै, समितिले पशुपतिनाथ मन्दिर परिसरमा हुने बाग्मती गंगा आरती पूर्व राष्ट्रिय गान अनिवार्य बजाउन संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले दिएको निर्देशनको पनि कडा निन्दा गरेको छ ।
समितिका केन्द्रिय अध्यक्ष सागर थापाको हस्ताक्षरमा प्रेषित ज्ञापनपत्रमा आरती अघि राष्ट्रिय गान बजाउन मौखिक निर्देशन दिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई समेत तत्काल हटाउन माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ,‘पाशुपत क्षेत्रमा विकासका बिना पूर्वाधार एक वर्ष बनाउने र अर्को वर्ष सोही निर्माण भत्काउने पाशुपत क्षेत्रका भौतिक संरचनाहरुमा धार्मिक संघसंस्थाहरु हटाएर भट्टी पसल सञ्चालन गर्न दिने जथाभावी कंक्रिटले पूर्वाधार निर्माण गर्ने, पाशुपत क्षेत्रको जमिन दुहाई गर्ने देखिएको छ ।’ आफूहरुले अघि सारेका जायज मागहरु समयमै पूरा नगरे आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरिनेपनि अध्यक्ष थापाले जनाएका छन् ।