Logo

विभत्स तरिकाले हत्या गरिएका युवराजकी आमाले सर्वोच्चमा अनसन बसेर मर्ने चेतावनी दिइन् (भिडियोसहित)



काठमाडौ, भदौ १९ । गत वर्ष रौतहटमा हत्या गरिएका १२ वर्षीय बालक युवराज कुमार शाहका परिवारले सर्वोच्च अदालते घटनाका अभियुक्तलाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले न्यायका लागि सरकार, आम नागरिक, सर्वोच्च अदालतलगायत सबैसँग अपिल गरेका छन् । दोषीमाथि कानुनअनुसार हदैसम्मको कारबाहीको माग गरे ।

पत्रकार सम्मेलनमा बालककी आमा बबिता देवीले छोराको हत्यारालाई कारबाही नभए आफू सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्ने चेतावनी दिइन् । छोराको हत्याराबारे सप्रमाण अदालतमा कागजपत्र पुग्दा पनि दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै न्यायका लागि जस्तोसुकै कदम चाल्न वाध्य हुने बताइन् । उनले भनिन्– मेरो छोरा युवराजले न्याय नपाए म सर्वोच्च अदालतको गेटमा अनसन बसेर प्राण त्याग्छु ।

छोराको हत्यारामाथि कारबाही नभएसम्म चुप नलाग्ने बताइन् । उनले भनिन् , एउटी आमाको काखबाट १२ वर्षको छोरालाई खोसेर लगी हत्या गरिंदा हत्यारालाई किन छाडियो ? आमाको आँसुले हत्यारालाई मात्र नभई हत्यारालाई प्रश्रय दिनेलाई समेत पोल्ने बताइन् । उनले भनिन्– मेरो छोराले न्याय नपाए उसको आत्माले शान्ति पाउनेछैन । अदालतले पनि गल्ती गर्न सक्ने भन्दै तत्काल सच्याउन माग गरिन् । न्यायनिसाफका लागि आफूहरु एक वर्षभन्दा बढी समययता भौतारिइरहेको बताइन् ।

दिलिप कुमार शाहको १२ वर्षीय छोरा युवराजकुमार शाहलाई २०७५ जेष्ठ २६ मा रौतहटको कटहरिया ९ स्थित घरबाट अपहरण गरी एक करोड फिरौती मागी भोलिपल्ट विभत्स तरिकाले हत्या गरिएको थियो । घटनामा १७ जना दोषी पाइएकामा १२ जना पक्राउ परेका थिए भने पाँच जना हालसम्म फरार छन् । पत्रकार सम्मेलनमा युवराजका पिता दिलिपकुमार शाहले घटनाको प्रकृति, कलडिटेल, अभियुक्तहरुको बयानलगायतका प्रमाणका आधारमा अभियुक्तहरुविरुद्ध सरकारले मुद्दा दायर गरेकोमा जिल्ला अदालत रौतहटले सबै अभियुक्तलाई दोषी ठहर गरेको, विशेष अदालतले चारजनालाई धरौटीमा रिहा गर्ने फैसला गररेको र सर्वोच्च अदालतले चारजनालाई छाड्ने फैसला सदर गरी थप दुईजनालाई रिहा गर्ने फैसला गरेको भन्दै असन्तुष्टि जनाए । शाहले प्रश्न गरे्– विभत्स तरिकाले मेरो छोराको हत्या गर्नेहरु आज मेरै सामुन्ने छाति फुलाएर हिंडन थालेका छन्, के यही न्याय हो ?

घटनाका पाँच अभियुक्त अझै फरार रहेकोमा पक्राउ नगरेको भन्दै शाहले आफू र परिवारसमेत असुरक्षित रहेको बताए । उनले भने–एकातर्फ दोषी फरार छन्, अर्कोतर्फ अदालतले धमाधम छोड्ने आदेश दिदैछ । छोरा गुमेको पीडाको घाउ नपुरिदै दोषीहरुले उन्मुक्ति पाएकोमा पीडा भइरहेको उनको भनाई थियो ।

बालकका बाबु शाहका अनुसार दुई छोरीको बीचमा सुतिरहेको छोरा युवराजलाई अपहरणकारीहरुले उठाएर लगेका थिए । गर्मी समय भएको हुँदा झ्यालहरु सबै खुला थियो । झ्यालमा चारैतिर हिर्काएर छोरीहरुलाई समेत हल्ला गरे मारिदिन्छु भन्दै अपहरण गरेका थिए । त्यसपछि पुलिसलाई अपहरणकारीहरुको सबैको नाम सहित रिपोर्ट गरेको र भोलिपल्ट मोबाइलमा फोन गरी एक करोड रुपैयाँ फिरोती मागेका थिए । रकम नदिए बालकको ज्यान लिने धम्की समेत दिएका थिए । भोलिपल्ट पुलिसले अपहरणकारीहरुको पत्ता लगाएपनि छोरालाई गोली हानी हत्या गरीसकेका थिए ।
प्रर भएको बताए ।



प्रतिक्रिया दिनुहोस्