Logo

कसैले भीख माग्दैमा राजतन्त्र फर्कदैन् : शर्मा



शरद रेग्मी : हापुरे १९ भदौ । तत्कालिन् विद्रोही माओवाद र सरकार पक्षबीच पहिलोपटक भएको वार्तास्थल दाङको हापुरेमा १६ वर्षपछि शान्ति र समृद्धि सम्मेलन सम्पन्न भएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन् विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो ।

रिपोर्टर्स क्लब दाङ र बवई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्ने नागरिक अगुवा तथा नेताहरुले शान्ति प्रक्रियाका अपुरा कामहरु तत्काल पुरा गर्न सरकार र दलहहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व शान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीख माग्दैमा राजतन्त्र नफर्कीने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्कीने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे ।

प्राप्त भएका उपलब्धिलाई विर्सेर भड्किएमा आफैंले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै कसैको बहकाउमा लागेर सामाजिक संजालमा जथाभावी नलेख्न पनि उनले आग्रह गरे ।

जनताको विजय हासील गर्न हापुरेमा पहिलोपटक शान्ति वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पुरा भएको बताए । संघीय लोकतान्त्रीक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रनै भएको उनले बताए ।

फरक प्रसंगमा उनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । हत्या र हिंसा बमले माग पुरा गर्न नसकिने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफनो पार्टीले सहयोग गर्ने पनि शर्माले विश्वास दिलाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नागरिक अगुवा दमननाथ ढुङ्गानाले इतिहास त्रुटीपूण रहेको बताएका छन् । परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपुर्ण कार्य रहेको उनले बताए । बन्दुकबाट परिवर्तनको आश नगर्न आग्रह गदै उनले परिवर्तन बचाउनु नै महानता भएको बताए ।

नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालिन् समयमा शान्ति वार्ता भंग भएको बताए । राजा ज्ञानेन्द्रले संविधान दिन नचाहेकै कारण वार्ता भईरहेको समयमा दोरम्बामा सेनाले मान्छे मारेर शान्तिविरोधी काम गरेको बताए ।

नेपाली सेना अहिले पनि विधिको शासनमा चल्ने अवस्थामा नभएको बताउँदै नेपाली सेना, प्रशासन र सिंहदरबारमा अझै परिवर्तन नआएको बताए ।

‘सिंहदरबार जस्तोको त्यस्तै छ, तर नेतामात्रै बदलिएका छन् ,’ श्रेष्ठले भने ‘ काम गर्ने शैली, पुरानै, भ्रष्टाचार व्याप्त र कर्मचारी संयोजनमा जाँदैनन अनि संघीयता संस्थागत हुन्छ ।’ त्यसैरी उनले चाकडी र भनसुनको संस्कृति त्याग्न नसके भ्रष्टाचार मौलाउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले दुई तिहाई बहुमतको वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी काम गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे ।

उनले दुई तिहाई वहुमतको सरकार हुँदापनि जनतामा निराशा ब्याप्त रहेको भन्दै नागरिकको सुरक्षा र विकासप्रतिको चाहनालाई पुरा गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल वली, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसीङ डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेललगायतले पश्चिम दाङको समृद्धि र शान्ति प्रक्रियाका बाकि काम पुरा गर्न कार्यक्रम फलदायि हुने बताएका थिए ।

कार्यक्रमको संचालन रिपोटर्स क्लव दाङका महासचिव बिमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्