काठमाण्डौ । पछिल्लो ५ वर्षमा ५ वटा एसिड प्रहारका घटना सार्वजनिक भएको छ । ति सबै घटनामा महिला पीडित छन् । एसिड आक्रमणबाट एक जनाको त मृत्यु नै भएको छ । एसिड प्रहार गर्ने सबै पुरुष छन् । एसिड प्रहार गर्नुको कारण प्रेम सम्बन्धमा खटपट नै हो । पुरुषले एसिड प्रहार गर्ने अनि महिला पीडित हुनुपर्ने । त्यति मात्रै होइन, आजिवन कूरुप भएर बस्नुपर्ने ।
एउटा सुनौलो भविष्यको सपना बोकेर विद्यालयतर्फ लम्बिरहेकी वीरगन्ज २ छपकैयाकी १५ वर्षीय मुस्कान खातुनमाथि शुक्रबार विहानै एसिड आक्रमण भयो । एसिडले शरीरका विभिन्न भाग डढेपछि मुस्कानको मुस्कान खोसिएको छ यतिबेला । यो अन्जान र टाढाको मान्छेबाट भएको कुकर्म होइन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले एकतर्फी प्रेमका कारण छिमेकी युवकले उनीमाथि एसिड हानिएको देखाएको छ । एसिड आक्रमणबाट यस्ता धेरै मुस्कानहरुको खुसी लुटिएको छ । अधिकांश घटना प्रेममा खटपट, एकतर्फी प्रेम वा पारिवारिक बेमेल हुने गरेका छन् ।
२०७१ फागुन ११ गते एसएलसीको तयारीको लागि ट्युसन पढ्न गएका दुई किशोरीमाथि काठमाडौंको वसन्तपुरमा एसिड प्रहार भयो । संगिता र सिमामाथि एसिड प्रहार गर्ने जीवन विक अहिले जेलमा छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि २०७५ भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । कारण थियो, प्रेम प्रस्ताव अस्वीकार गरेको । ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेका थिए ।
गम्भीर घाइते दासको उपचारको क्रममा मृत्यु भयो । नवलपरासीको कावासोतीमा फेरि २७ वर्षीया युवतीमाथि एसिड र छुरा प्रहार भयो । आफ्नै छिमेकी विमल श्रीपालीको एसिड र छुरा आक्रमणमा परेकी कावासोती नगरपालिका ९ डण्डा बजारकी वसन्तीको शरीरको २५ प्रतिशत भाग जलेको थियो ।
गत जेठ १ गते काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड आक्रमण भयो । आक्रमणमा परेकी युवति जेनी खड्कालाई आफ्नै श्रीमान् विष्णु भुजेलले एसिड खन्याएका थिए । एसिड आक्रमण दण्डनीय छ ।
कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
जरिवानाको रकम पीडितलाई दिइने पनि अपराध संहितामा उल्लेख छ । एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा पनि लाग्छ । कानुन बनेको छ तर मानिसको मनोबृतिमा सुधारका लागि कानुनमात्रै पर्याप्त भएको छैन ।
महिला हिंसा :
नेपालमा महिला हिंसा विकराल बन्दै गएको छ । हिंसाका रुप अनेक छन् । सरकारले नियन्त्रण गर्न सकेको छैन । एकपछि अर्को गर्दै महिला हिंसाका घटना सार्वजनिक भइरहँदा समाज नै त्रसित भइरहेको छ । लैंगिक हिंसाविरुद्ध सरकारको भूमिका भने कमजोर देखिएको छ ।
घरेलु हिंसा, बलात्कार, यौन जन्य हिंसा, एसिड प्रहार जस्ता हिंसात्मक गतिविधि नियन्त्रण हुन सकेको छैन । घर परिवारबाटै महिला हिंसामा पर्ने गरेका छन् । विभिन्न खाले आक्रमण र आरोप मात्रै होइन, हत्यासमेत हुने गरेको छ ।
कानुन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसक्दा महिलामाथि हिंसाका घटनाहरू बढ्न थालेको कतियको टिप्पणी छ । लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत विभिन्न चेतनामुलम कार्यक्रम हुने गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन । सरोकारवाला निकायहरु यस विषयमा चिन्तित त देखिन्छन्, तर भूमिका बलियो बनाउन सकेका छैनन् ।
महिला हिंसा रोक्न व्यक्ति, परिवार, समुदाय पनि सचेत हुनुपर्ने राष्ट्रिय महिला आयोगको सुझाब छ । तर अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म हिंसा कम नहुने आयोगको प्रवक्ता लक्ष्मी पाण्डे बताउछिन् ।
जुनसुकै हिंसा वा अपराध होस्, त्यसमा संलग्नलाई कारबाहीको व्यवस्था छ । तर प्रभावकारी रुपमा त्यो कार्यान्वयन हुन सकेको छैन । कानुनी पाटो एकातिर छ भने हिंसालाई मानसिक रुपमा नै टाढा राख्न राज्य गम्भीर हुनुपर्ने काुननविद्हरु बताउँछन् ।
अपराधशास्त्रीसमेत रहेका अधिवक्ता सुरज बस्नेतले कानुनमा भएको सजायको व्यवस्था कडाइका साथ लागु गर्न सुझाब दिएका छन् । त्यसैले संविधान, कानुनले प्रदत्त गरेको समानता र स्वतन्त्रताका हकका विषयमा चेतना जगाई सद्भावपूर्ण सामाजिक वातावरण कायम गर्न जरुरी छ ।