काठमाडौं, भदौ २१ । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।
शुक्रबार बेलुका ७ः३० बजेतिर घरको आँगनमा खेलिरहेका बेला एक्कासि चितुवाले बालकलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। चितुवाले आक्रमण गरी बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको थियो । शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।
यसैबीच चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका छन् । स्थानीयवासी त्रसित बनेपछि थप सुरक्षा परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट २०६८ यता २४ जनाको ज्यान गइसकेको छ । रासस