Logo

अवण्डाले मेयर-उपमेयरबीच बबण्डा हुँदा उर्लाबारीवासीको नागरिकता समेत बनेन



मोरङ, भदौ २१ । मेयर र उपमेयरबीचको विवादका कारण उर्लाबारी नगरपालिकाका झण्डै दुई महिनायता जनताले नागरिकता समेतबाट वञ्चित हुनुपरेको छ । मेयर खड्गबहादुर फागुले एक निर्णय गरी रकम खर्च गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीसहित १३ जना जनप्रतिनिधि अदालत गएपछि आर्थिक कारोबार ठप्प हुँदा नागरिकताको सिफारिश समेत बन्न नसकेको हो ।

नगरपालिकाको काम २८ साउनदेखि ठप्प हुँदा नागरिकता समेत बन्न नसकेको र विदेश पढ्न जानेको सम्पत्ति मूल्यांकन समेत नहुँदा पीडामा परेको भन्दै स्थानीयवासी मर्कामा परेका छन् । आफैले जिताएको जनप्रतिनिधि आफैलाई पीडा दिन लागेपछि जनआक्रोश बढेको छ । स्थानीयवासीले कुनैपनि बेला खतरनाक अवस्था आउने चेतावनी दिए । स्थानीयवासी नारायण बस्नेतले भने, ‘यस्तै हो भने जनताको आक्रोश थेगिनसक्नु हुन्छ ।’

नगरवासीहरु बिल काट्नुपर्ने शिर्षकका सेवाबाट वञ्चित भएका छन् । जसमध्ये नागरिकता, जन्मदर्ता, विवाहदर्ता, जग्गाको चारकिल्ला, जग्गाको मूल्यांकनलगायत शिर्षकका सेवाहरु रहेका छन् । नागरिकता देखि जग्गाको चारकिल्ला नबन्दा जनता पीडामा परेको बताउँछन् स्थानीयवासी नारायण बस्नेत । उनले भने, ‘नेपाल अधिराज्यभर नभएको अवस्था उर्लाबारी नगरपालिकामा भयो ।’

उच्च अदालतल विराटनगरमा उपमेयर भण्डारी पुगेपछि अन्तरिम आदेश जारी गरी हाललाई काम गर्नु नगराउनु भनेपछि आर्थिक कारोबारहरु ठप्प छ । उपमेयर लक्ष्मीदेवी भण्डारीले आफूहरुको उद्देश्य जनतालाई दुःख दिने नभई कानुन र विधिसम्मत काम होस् भन्ने रहेको बताइन् । मेयर खड्गबहादुर फागुले बहुमतलाई बेवास्ता गरी एकल निर्णय गराएकोले अदालत जान वाध्य भएको बताइन् । उनले भनिन्, ‘अवण्डा शिर्षकमा छुट्टै लिएको दुई करोडभन्दा बढी एकल निर्णयबाट भएकोमा हिसाब देखाउनुपर्छ भन्दा पेलेर जाने काम भयो ।’ नगरको बैठक बसी जर्बजस्ती १७ वटा एजेन्डा पारित गरेर मेयर फागुले अदालत जान चुनौती दिएपछि आफूहरु नोट अफ डिसेन्ट लेखेर कानुनी उपचारमा गएको उनको भनाई छ । यसबारे मेयर खड्गबहादुर फागुसँग बुझ्न खोज्दा उनको मोबाइल बन्द गरिएको पाइयो ।
नागरिकता, जन्मदर्ता र मृत्युदर्ता बनाउन समेत नपाएपछि उर्लाबारीका नगरवासी काठमाडौं आएर महालेखा परीक्षकको कार्यालय पुगेर टुंगो लगाइदिन निवेदन हालेर गएका छन् । अदालतमा पुगेको विषय भएकाले यसबारे अझै अन्यौल कायमै छ ।

नगरपालिकाको बजेट विनियोजन गर्दा मेयर र उपमेयरबीच विवाद भएको थियो । कार्यपालिका सदस्य १३ जनाले अदालतमा मुद्दा हालेका छन् । मेयरसहित छ जनाले मनोमानी तरिकाले बजेट विनियोजन गरेको उनीहरुको भनाई रहेको छ ।

उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेबाट मेयर खड्गबहादुर फागु र तत्कालिन नेकपा एमालेबाट उपमेयर लक्ष्मीदेवी भण्डारी विजयी भएका थिए । फरक पार्टीको मेयर उपमेयर हुँदा विवाद रहँदै आएको थियो । तर, उपमेयर पाण्डे मेयरसँग आफ्नो विवाद नभएको दाबी गर्छिन् । उनी भन्छिन्, ‘हाम्रो भनाई कानुनसम्मत तरिकाले नगरपालिका चलाउनुपर्छ भन्ने हो ।’ नगरपालिकामा गुण्डागर्दीको शैलीमा तरुण दल र नेविसंघका युवाहरुलाई ल्याएर तर्साउन खोजेको उनको आरोप छ । Photo Credit: THT



प्रतिक्रिया दिनुहोस्