काठमाडौं, भदौ २१ । देशभर डेंगु फैलिइरहँदा स्वास्थ्यमन्त्री समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव देशबाहिर छन् । उनी विश्व स्वास्थ्य संगठनको दक्षिण एशियाली मन्त्रीस्तरीय बैठकमा भाग लिन एक हप्तायता दिल्लीमा छन् । देशमा डेंगु नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने अवस्थामा मन्त्री यादव एक हप्तासम्म विदेश बस्नुलाई गम्भीरताका साथ लिइएको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगका कारण हालसम्म तीन हजारभन्दा बढी विरामी भेटिएको तथ्यांक बाहिर आइसकेको छ । अस्पतालहरुमा विरामीको संख्या बढेपछि बेड थप्न स्वास्थ्य मन्त्रालयमा प्रस्ताव लगिएको छ । शुक्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदेव पाण्डेले विरामीहरुको चाप बढेसँगै अस्पतालको बेडले अपुग भएको कारण बेड थप्नका लागि स्वास्थ्य मन्त्रालयसँग प्रस्ताव राखेको बताए । तर, मन्त्री देशबाहिर हुँदा त्यसमाथि कुनै निर्णय भएको छैन ।
अस्पतालहरुमा बेड नपुग्दा विरामी मारमा परेका छन् । रोग नियन्त्रणका लागि सरकारले खासै गम्भीरता देखाएको छैन । डेंगुले कृषिमन्त्री चक्रपाणी खनाल देखि टेकुस्थित सरुवा रोग नियन्त्रण महाशाखाका डाक्टर समेत विरामी परेका छन् ।