काठमाडौं, २१ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले आफू समाजवादको कित्तामा उभिएर मर्ने उद्धघोष गरेका छन् ।
उनले भने,‘म चाहन्थे जनसेनाको जुलुस लिएर उपत्यका छिर्न तर मैले पेरु, फिलिपिन्स र अन्य कम्युनिष्ट देशहरुको ईतिहास पढेको छु , धेरै देशहरु ढलेका छन्, हाम्रो निम्ति पनि त्यस्तै हुने देखेर उपलब्धीको रक्षा गर्न, कार्यकर्ता र नेताहरुको रक्षा गरौं भन्ने लाग्यो र म एउटा सम्झौतामा आएको हुँ ।’
उनले आफूले राजनीतिलाई मोडेको स्मरण गर्दै भने,‘अहिले उपराष्ट्रपतिदेखि मन्त्री र केन्द्रदेखि सातै प्रदेशमा विभिन्न पदमा हुनुहुन्छ । त्यतिखेर मैले सात बुँदे सम्झौता नगरेको भए त्यसो नगरी अन्य बाटो लिएको भए प्रतिकृयावादीहरुको निरंकुश शासन आउँथ्यो ।’
अध्यक्ष दाहालले आफूहरुले क्रान्तिको नयाँ शिखरतिर उक्लन चाहेको सुनाए । उनले भने,‘हाम्रा लाखौं लाख कार्यकर्ताहरुको चाहनालाई नयाँ उचाईमा पुर्याउने चाहन्छौं । हामीले समाजवादको रुसी मोडल हेर्यौं, पूर्वी युरोप देख्यौं र हेरिरहेका छन् छौं। हामीले पनि एउटा विकास मोडलको अभ्यासमा ल्याउन नै मैले कम्युनिष्टहरुको एकतालाई अगाडि बढाएको हुँ, यो मोडल आवश्यक थियो ।’
अहिले केही साथीहरु आत्तिन थालेको पनि प्रचण्डको तर्क छ । उनले थपे,‘हामी एक डेढ वर्षमा आत्तिन थाल्यौं भने प्रतिक्रियावादीहरुले टाउको उठाउन सक्छन् । यसै त नेकपालाई कमजोर बनाउन सकियो भने, वा फुटाउन सकियो भने टाउको उठाउन सकिन्छ कि भन्ने दाउमा छन् तर त्यो दिवास्वप्न नदेखे हुन्छ ।’
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम