Logo

एसिया कप क्रिकेट : आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं २२ भदौ । श्रीलंकाका जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज आइतबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’मा रहेको नेपाललाई अघिल्लो चरणमा पुग्न बंगलादेशसँगको खेल निकै महत्वपूर्ण छ ।

पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग डकवर्थ एन्ड लेविस नियमका आधारमा पाँच विकेटले पराजित भएको थियो । टेस्ट राष्ट्र बंगलादेश पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । बंगलादेशले पहिलो खेलमा यूएईमाथि सहज जित निकालेको छ । त्यसैले पनि बंगलादेशको मनोबल उच्च छ । नेपाल र बंगलादेशबीच यसअघि उमेर समूहमा पाँच पटक प्रतिस्पर्धा भएको छ । चार खेलमा बंगलादेश विजयी भएको छ । एक खेल वर्षाका कारण रद्ध भएको थियो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन् । भदौ २८ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोली कीर्तिपुर मैदानमा सामान्य तयारी गरेर श्रीलंका गएको थियो । कीर्तिपुर मैदान हिलो भएका कारण नेपाली युवा टोलीको तयारीमा समेत बाधा परेको थियो । यद्यपि नेपालले प्रतियोगिताअघि श्रीलंकामा स्थानीय टोलीसँग तीनवटा अभ्यास खेल खेलेको थियो । नेपालले स्थानीय टोलीसँग दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । शनिबार भएको समूह ‘ए’को खेलमा अफगानिस्तानले कुवेतलाई सात विकेटले हराएको छ ।



प्रतिक्रिया दिनुहोस्