काठमाडौं, भदौ २२ । पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कने भएका छन् । उनी दिउँसो बैंककबाट काठमाडौं फर्कने भएका हुन् ।
तीन साता लामो बैंकक बसाईंपछि २२ भदौमा फर्कन लागेको उनी निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिए । पछिल्लो समय पूर्व राजाको बैंकक आवत्जावत् बाक्लिएको छ । यसलाई बाह्य शक्तिसँगको भेटघाटसँग पनि जोडेर हेरिएको छ । तर, पूर्व राजा निकटस्थले यसबारे केही बताउन चाहेनन् ।
पूर्व राजाको सक्रियतापछि राजनीतिक वृत्तमा अनेकन टिकाटिप्पणी भइरहेको छ । सत्तारुढ नेकपाका नेताहरुले पूर्व राजालाई चलखेल नगर्न चेतावनी समेत दिएका छन् ।
यसैगरी स्वदेश फर्किएपछि पूर्व राजा काठमाडौं उपत्यकाबाहिरका मठ मन्दिरमा जाने बुझिएको छ । दशैं अघि सम्म पूर्व राजा मठमन्दिर पुग्ने गरी योजना बनेको छ । विशेषगरी तराईका जिल्लाहरुमा उनको भ्रमण तय भएको छ ।
पूर्व राजा शाह भारत भ्रमणमा समेत जानसक्ने बताइएको छ । भारतमा केही महत्वपूर्ण भेटघाट तय गर्न उनी निकटस्थहरु सक्रिय भएका छन् ।
एक महिनाको अन्तरालमा उनी दुईपटक थाइल्यान्ड गएर दुई देखि तीन हप्ता बसेका छन् । यसपटक पनि उनी तीन हप्ताका लागि थाइल्यान्ड गएका थिए ।-फाइल तस्बिर