Logo

विस्तारै काममा प्रधानमन्त्री



काठमाडौं २३ भदौ । दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवैतर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । आइतबार उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक डाके । त्यहाँ केही सचिव बढुवा र चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा हुने एजेन्डासम्बन्धी विषयमा छलफल गरे ।

आइतबार नै सरकारले आयोजना गरेको निजामती सेवा दिवससम्बन्धी औपचारिक कार्यक्रम थियो । विगतमा प्रधानमन्त्री नै त्यो कार्यक्रममा जान्थे । यस पटक प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्रीलाई पठाए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पनि ओली गएका छैनन् । हुन त यसअघि पनि प्रधानमन्त्री सिंहदरबारस्थित कार्यालय दैनिक जाँदैनथे । बालुवाटारस्थित निवासमै मन्त्रिपरिषद् बैठकदेखि भेटघाटलगायतका काम गर्ने छुट्टै कार्यालय छ ।

प्रधानमन्त्री ओलीले औपचारिकताका लागि भेट्न आउने केही व्यक्तिलाई पनि समय दिए । श्रीलंकाका लागि राजदूतमा सिफारिस नारद भारद्वाज प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न र औपचारिकताका लागि म गएको थिएँ,’ भारद्वाजले भने, ‘राजदूतमा सिफारिस भएपछि उहाँसँग भेट भएको थिएन, त्यसैले गएको हुँ, उहाँको स्वास्थ्य अवस्था राम्रो पाएँ ।’

स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग दिनहुँ भेटघाट गरिरहेका छन् । नेकपा पार्टी एकतासम्बन्धी काम अघि बढाउने कार्यसूची दाहाललाई सुम्पेर ओली भदौ ५ मा सिंगापुर गएका थिए । यसबीचमा दाहालको अध्यक्षतामा सचिवालय बैठक बस्यो । तर मूल विषयमा कुनै निर्णय भएन ।

त्यसैले अध्यक्ष दाहाल र महासचिव पौडेल एकताका काम टुंग्याउने विषयमा ओलीसँग छलफल गर्न बालुवाटार गइरहेका हुन् । केही दिनको गृहकार्यपछि एकताका काम टुंग्याउने पार्टीको अभियान तल्लो तहमा लैजान स्थायी समितिको बैठक बोलाउने तयारी भएको नेकपाका एक नेताले बताए । त्यसअघि पार्टीअन्तर्गतका आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्चलगायतको काम अघि बढाउनुपर्नेछ । यसमा पनि सहमति खोज्ने प्रयास भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार साँझ ५ देखि ५ः४५ बजेसम्म बालुवाटारमै औपचारिक भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार चिकित्सकले ओलीलाई धेरै धपेडी नगर्न सुझाएका छन् । धेरै मानिस संलग्न हुने कार्यक्रममा सहभागी नहुन पनि सल्लाह दिएका छन् । सिंगापुरमा ओलीको शरीरबाट ‘एन्टिबडी’ हटाउन प्लाज्माफेरेसिस गरेपछि पुनः एन्टिबडी उत्पादन हुन नदिन नयाँ औषधि चलाइएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot