पहिलो प्रदर्शनको करीब एक दशकपछि “दासढुंगाः च्याप्टर २” नाम राखेर बनाउन लागिएको चलचित्रमाथि रोक लगाइएको छ । नेपाली चलचित्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले निर्माण इजाजत नदिँदा फिल्म निर्माण हुने वा नहुनेमा अन्योलता श्रृजना भएको छ । राय–सुझावका लागि बोर्डले चलचित्रको कथासार मदन भण्डारी फाउन्डेसनलाई पठाएको छ । तर, निर्माण अगावै सेन्सर हुनु अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको निर्देशक भट्टराईको गुनासो रहेको छ ।
चलचित्र “दासढुंगा” तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर निर्माण गरिएको थियो । यो चलचित्र त्यही घटनाको दोस्रो श्रृृंखला हो ।
चलचित्रले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने हुँदा मदन भण्डारी फाउन्डेसनले स्क्रिप्ट अध्ययन गरेपछि निर्माणका लागि इजाजत दिन अस्वीकार गरेको कुरा चर्चामा आएपनि बोर्डले इजाजत दिने वा नदिने विषयमा फाउन्डेसनबाट कुनै पत्र नआएको जनाएको छ ।
चलचित्रको कथा अध्ययन गर्दा मदन भण्डारी र जीवराज आश्रितको हत्यामा लगभग पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, विद्यादेवी भण्डारी, माधव नेपालको हात रहेको भनिएको तर प्रमाणित नगरिएको कुरा विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जनाएका छन् ।
चलचित्रको निर्देशन कुमार भट्टराईले र निर्माण अपिल विष्टले गर्दैछन् । चलचित्रको पहिलो श्रृृंखला सन् २०१० मा प्रदर्शनमा आएको थियो, जसलाई मनोज पण्डितले निर्देशन गरेका थिए । ‘दासढुंगा २’ ले अघिल्लो संस्करणमा छुटेको कथा बोक्ने निर्माण पक्षले जनाएको छ । चाप्टर २ मा ‘दासढुंगा’का केही कलाकारहरु पनि दोहोरिनुको साथै नयाँको प्रवेश पनि हुनेछ । लगभग चलचित्रका लागि कलाकारहरुको टुंगो लागिसकेको छ ।