काठमाडौं, भदौ २३ । तार्केश्वर नगरपालिका ५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घर भएका पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका २ का पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका ९ का पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका ७ का लिला थापा मगर, भक्तपुर सूर्य्विनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका ७ का शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका ७ का राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका ९ का जिस घले रहेका छन् । उनीहरुलाई २१ भदौमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट २१ भदौको बिहान पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएकोे खबर पश्चात खटिएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका १५ छाउनीस्थित अर्जुन लामाको घरमा पेम्बा सहित उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
अपहरित पेम्बा तामाङ समेतले ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य सात जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले बताएको छ ।