Logo

पशु कल्याण संघ नेपालले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं, २३ भदौ । सुर्खेत र खोटाङमा विभत्स रुपमा भएको गाई र कुकुरहरुको हत्याको छानविन गरि दोषीलाई कारवाही गर्न पशु कल्याण संघ नेपालले आईतबार गृहमन्त्री रामबहादुर थापालाई भेटी ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ ।

“नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेख लैजाने भनी पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भिरबाट खसालेर मारिएको र वेवारिसे अवस्थामा जंगलमा छाडिएको तथा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा वर्वरतापूर्वक मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ । एउटा सामान्य मानवीय धर्म र पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैह्रजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण र नीतिमाथी प्रश्न चिन्ह खडा गरेको छ ।”-विज्ञप्तिमा भनिएको छ ।

दुबै घटनाहरुमा सम्बन्धित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु पनि अनुसन्धानको दायरामा आउनुपर्नेमा हालसम्म उनीहरुमाथी कुनै अनुसन्धान नहुनु तथा यस सम्बन्धमा जाहेरी दर्ता गर्न आनाकानी गरिनुले दोषिउपर कारबाहि हुने कुरामा शंका रहेको कुरा पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताईन् ।

“शक्तिको आडमा दोषिहरु उम्कीने अवस्था देखियो, त्यसैले गृहमन्त्रीको ध्यानाकर्षण गराउनका लागी ज्ञापनपत्र बुझाएका हौँ ।”-अध्यक्ष श्रेष्ठले बताईन् । यदि कानुन बमोजिम घटनाका दोषिलाई कारबाहि गरिँदैन भने पशु अधिकारकर्मीहरु चुप लागेर नबस्ने चेतावनी उनको भनाई थियो ।

नेपालमा पशु पंक्षिहरुप्रतिको दुर्व्यवहारलाई कानुनले समेत सम्बोधन गरिसकेको सन्दर्भमा पशु कल्याणको सुनिश्चितताको लागी पशु कल्याण ऐन निर्माण गरि यावत समस्याको दिर्घकालीन समाधान खोज्न सकिने देखिन्छ । पशु पंक्षिहरुप्रति गरिने व्यवहारले देशको सभ्यता मापन गर्न सकिने भएकाले हिंसारहित, सभ्य र समुन्नत राज्यका लागी पशु कल्याण सुनिश्चित हुनु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्