काठमाण्डौ । गुरुकूल शिक्षाको महत्व र आवश्यकताबारे धेरैलाई थाहा नहुन सक्छ । प्राचीन कालबाट सुरु भएको गुरुकुल नै शिक्षाको जग हो । तर सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेको छ । गुरुकुल शिक्षासँग जोडिएको संस्कृति शिक्षा जिवनउपयोगि र व्यवहारिक मानिन्छ ।
घरमा नबसी गुरूका अधीनमा रहेर ब्रह्मचर्यपूर्वक त्याग एवं तपस्यायुक्त जीवन यापन गर्दै विद्या आर्जन गर्नु परम्परागत गुरूकुल शिक्षा प्रणालीको प्रमुख उद्देश्य हो । यस प्रणालीमा मूलतः तीन तत्व पाइन्छन् ।
गुरु र शिष्यको आत्मिक सम्बन्ध, सत्य, तप, दम, शम आदि साधनहरूद्वारा दृढ चरित्र निर्माण तथा स्वाध्याय अर्थात् अपरा विद्या प्राप्ति । यसका लागि ६ वर्षको उमेरमा गुरूकुलमा प्रवेश गरिन्छ । कुनै कुनै गुरूकुलमा सो उमेर भन्दा बढी उमेरकाले पनि प्रवेश पाउने गरेको देखिन्छ ।
नेपालमा प्राचिनकालदेखि शिक्षाको रुपमा विकास भएको गुरुकुल शिक्षा अहिले हराउँदै गएको छ ।सरकारले उपेक्षा गरेका कारण आकर्षकमा कमी हुँदै गएको नेपाल वेद विद्याश्रमका प्राध्यापक केशवप्रसाद अधिकारी बताउँछन् ।
गुरुकुल शिक्षा सस्ंकृत भाषालाई सबैभन्दा पुरानो भाषा र अध्ययनअध्यापन गराउने शैलीको रुपमा लिइन्छ । यसले सस्ंकृत र सस्ंकृतिलाई झल्काउने गर्दछ । नेपालमा १०० को हाराहारीमा गुरुकुलहरु स्थापना भएका छन् । तर व्यवस्थित बनाउन सरकारले चासो नदिएको नेपाल वेद विद्याश्रममा कक्षा ६ मा अध्ययनरत छात्र सुजित प्रसाद खतिवडाको गुनासो छ ।
प्राचीन कालमा आठ वर्षमा उपनयन संस्कार सम्पन्न भएपछि गुरुको सान्निध्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने प्रावधान थियो । अहिले पनि गुरूकुल शिक्षाले दिने अर्थ यही नै हो ।
त्यतिबेला विद्यार्थीले २५ वर्ष नपुग्दासम्म गुरूको साथमा बसेर विद्या अध्ययन गर्नुपर्थ्यो । पूर्ण ब्रह्मचर्यमा रहेर विद्या अध्ययन गर्नुपर्ने भएकाले यसलाई ब्रह्मचर्याश्रम पनि भनिन्थ्यो ।
प्राचीन गुरूकुलहरूमा वेद, दर्शन, उपनिषद्, व्याकरण आदि आर्ष ग्रन्थ पढ़ाउनुका साथै गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, सामाजिक विज्ञान, चिकित्सा, भूगोल, खगोल, अन्तरिक्ष, गृह निर्माण, शिल्प, कला, संगीत, तकनीकी, राजनीति, अर्थशास्त्र, न्याय, विमान विद्या, युद्ध, मनुष्यका भौतिक तथा आध्यात्मिक उन्नतिका लागि आवश्यक पर्ने सबै विषय अध्यापन गराइन्थ्यो । तर यस्तो शिक्षा पछिल्लो कालखण्डमा ओझेलमा परेको छ ।