Logo

दशैँतिहार तथा छठका लागि सहुलियत बजार सञ्चालनमा



काठमाडौं, २३ भदौ ।सरकारले आजदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम दिवसको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा उहाँले किसान र उपभोक्ता दुवैले राम्रोसँग चाडपर्व मनाउन भन्ने उद्देश्यले सरकारले एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको जानकारी गराउनुभयो । उहाँले नेपाल सरकारले बजार व्यवस्था सुव्यवस्थित गरी उपभोक्तालाई बढीभन्दा बढी सहुलियत दिएर दशैँतिहार मनाउने व्यवस्था गरेको बताउँदै जनता कालोबजारीबाट नठगिन सचेत गराउनुभयो ।

मन्त्री यादवले सुपथ मूल्यका पसल निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आजदेखि आगामी कात्तिक १७ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालनमा रहने जानकारी गराउँदै यसबाट उपभोक्ता लाभान्वित हुने बताउनुभयो । उहाँले सहुलियत पसल खोलेर बजारमा हस्तक्षेप नगरेको बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्स प्रदेश नं–३ का अध्यक्ष कृष्णमान श्रेष्ठले उपभोक्ताले मात्र नभइ किसानले पनि चाडपर्व मनाउनुपर्ने भएकाले किसानलाई पनि केन्द्रित गरेर सस्तोमा सामान उपलब्ध गराउने तथा कृषिजन्य वस्तुको परल भाउ पाउनुपर्नेमा जोड दिनुभयो । दुग्ध विकास संस्थानका आयोजना प्रमुख राजेन्द्रप्रसाद अधिकारीले उपभोक्ताका लागि संस्थानले उत्पादन गरेका वस्तु दशैँतिहारका लागि पुरानै मूल्य कायम गरेको र किसानको मागअनुरुप दूधमा प्रतिलिटर रु छ रुपैँया वृद्धि गरेको जानकारी गराउनुभयो ।

राष्ट्रिय उपभोक्तामञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले दशैँको मुखमा दूधमा प्रतिलिटर रु छ रुपैयाँ वृद्धि गरेकोमा आपत्ति जनाउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति निर्देशनअनुसार चिनी र नूनको भाउमा सहुलियत दरमा बिक्री व्यवस्थापन गरेको बताउनुभयो । आजदेखि सञ्चालनमा ल्याइएको सो पसलमा चिनी, मैदा पिठो, चामल, चिउरा तथा गेडागुडी प्रतिकेजी तथा बोरामा रु पाँचदेखि अधिकतम रु २५ सम्म छुट दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot