कास्की, २४ भदौ । मालपोत कार्यालयका शाखा अधिकृत अविनाश कुँवर विरुद्ध मुद्धा दायर भएको छ । जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत उनान्साठी हजार घुस लिएका कुँवर विरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।
मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत (शाखा अधिकृत) अविनाश कुँवरले जग्गाको रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गरेको भएता पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कुँवरलाई उनान्साठी हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा कुवँरले जग्गाको रजिष्ट्रेशन पारित गरिदिएबापत सेवाग्राहीसँग उनान्साठी हजार घुसर लिएको तथ्य पुष्टि हुन आएको हुँदा उनलार्ई विगो उनान्साठी हजार कायम गरी भ्रष्टाचार बमोजिम सजाय हुन मागदावी सहित मुद्धा दायर गरिएको हो ।