Logo

नेकपामा अध्यक्षको अधिकार बहस



काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र दुइ अध्यक्षको शक्ति बाडफांडको विषय थप जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली २ साता लामो सिंगापुरमा उपचार गरेर फर्किए लगत्तै यो विषय टुंगो लगाउने अध्यक्ष पुष्पकमल दाहालको तयारी थियो ।

तर अर्का अध्यक्ष ओली र उनको गुटले यो विषयमा बहस नै गर्न चाहेको छैन । दाहाल तथा उनको गुटले भने भित्रभित्रै रणनीति बनाइरहेका छन् ।

पार्टी एकता भएयता अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीविचको सम्बन्धमा उतारचढाव हुँदै आएको छ । उहाँहरुबीच कहिले बेमेल त कहिले मित्रवत सम्बन्ध जस्तो छनक हुने गरेको छ ।

पछिल्लो पटक पार्टी एकताको बाँकी काममा पार्टीका विभागहरु गठन र तिनका नेतृत्व चयन लगायतका विषयमा अध्यक्ष दाहालले बाहिरी रुपमा तीव्र असन्तुष्टि नदेखिए पनि भित्री रुपमा सन्तुष्ट नरहेको उनी निकट नेताहरुले बताउदै आएका छन । सोमबार मात्रै राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सरकारको आलोचना गर्नुभएको थियो ।

दाहालले सरकारको आलोचना गर्नु भनेको अर्का अध्यक्ष ओलीसँग असन्तुष्ट हुनु हो भनेर बुझ्दा फरक नपर्ला । आलोपालो साँढे दुई वर्ष प्रधानमन्त्रीको सहमति भएको भनिएपनि दाहाललाई ओलीले त्यो मौका नदिने हो कि भन्ने चिन्ता पनि छ । दुई अध्यक्षबीच मन मिल्न नसक्नुको प्रमुख कारण यही नै हो ।

उपचारका लागि सिंगापुरमा हुँदा महासचिव विष्णु पौडेल र नेता बामदेव गौतमलाई ओलीले उतै बोलाएपछि दाहाल पक्षधर झस्किएका थिए । त्यसो त विगतदेखि नै नेता गौतम अध्यक्ष दाहाल निकट मानिन्छन् ।

तर ओलीले पनि गौतमलाई फकाउन विभिन्न जुक्ति लगाइरहेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा नै प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति नहुने प्रस्ताव गरेपछि दाहाललाई केही राहत त मिलेको छ ।

तर नेपालको समर्थन पाउने हो कि हैन भन्ने निश्चित छैन । प्रधानमन्त्री ओलीलाई पनि धेरै जिम्मेवारी भएका कारण सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै अन्य नेताहरुलेसमेत असन्तुष्टी व्यक्त गरिरहेका छन् । सबैलाई खुशी बनाउनका लागि शक्ति बाँडफाँटमै लचिलो हुन ओलीलाई सुझाब दिनेहरु पनि धेरै छन् ।

पुर्वएमाले पक्षधरका नेताहरु भने आगामी महाधिवेशनसम्म दुइअध्यक्ष नै रहने र महाधिवेशनपछि मात्रै एक अध्यक्ष रहने बताउदै आएका छन । तर एकताका बेला गरिएको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा पूर्व माओवादी पक्षधरले जोड दिदै आएका छन् ।

स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको बेला प्रधानमन्त्रीसमेत रहेका ओलीले सबैलाई मिलाएर पार्टी संचालन गर्न कुन बाटो रोज्छन् त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot