Logo

इन्द्रजात्रा अवलोकन गर्न ४८ विदेशी पाहुना



काठमाडौं, भदौ २६ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउन लागेका छन् ।

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी गराएका छन् ।

“भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, उनले भने, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”

पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको जनाइएको छ ।

“महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवद्र्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।” उनले भने । यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको छ ।

सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो । निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद शहीद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने बताइएको छ ।

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने महानगरले जनाएको छ ।

बिहीबार आइपुग्ने पाहुनालाई शुक्रबार हनुमानढोका आसपास कुमारी रथयात्रामा सहभागी गराइने छ। सो क्रममा तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्राको प्रत्यक्ष अवलोकन गराइनेछ ।

आगामी शनिबार चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना बनाइएको छ । आइतबार भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण अवलोकन गराइने त्यसै दिन साँझ बिदाइ गरिने छ । त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot