Logo

नेपालमा शक्तिराष्ट्रबीच प्रतिष्पर्धा



अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउन पहल थालेलगत्तै क्षेत्रीय राजनीतिमा तरंग आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले ऐतिहासिक भेटका लागि निम्तो दिएपछि भएको भेटपछिको प्रेस विज्ञप्तिमा नेपाल इन्डो प्यासिफिकको केन्द्र बन्न सक्ने उल्लेख भयो । त्यसले नेपालमा चासो राख्ने अन्य शक्तिशाली देशहरुलाई झस्कायो ।

चीनको पूर्वाधार विकासको परियोजना बीआरआईमा नेपाल सहभागी भइसकेको अवस्थामा इन्डो प्यासिफिकको विषयले सत्तारुढ दलभित्रै मतभेद देखियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले यसको खुलेरै विरोध गरे । नेकपा प्रमुख सचेतक देव गुरुङले संसदमा यसविरुद्ध आवाज उठाए । उनले अमेरिकी गुप्तचर निकायको पहलमा केही देशको गुप्तचर प्रमुखहरु भेला गरेर नेपालमा बैठक गरेको खुलासा गरे ।

इन्डो प्यासिफिकको विषय तताउने काम नेकपाभित्रबाट भयो । यतिसम्मकी चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनु अघि र पछि यसलाई तताउने काम प्रचण्ड र उनका निकटस्थले गरेका थिए । वाङ यीको यसै हप्ता भएको भ्रमणलाई चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमणको तयारीका रुपमा लिइएको छ । भारत चीन समिटमा भाग लिन भारत जानुअघि जिङपिङ केही घन्टाका लागि काठमाडौंमा रहने बताइएको छ ।

चिनियाँ विदेशमन्त्री आउनु अगावै भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आए । उनी दुई दिन नेपाल बसेर महत्वपूर्ण भेटघाट गरे । विदेशमन्त्री भएपछि उनको नेपाल भ्रमण पहिलो हो । यसअघि विदेश सचिव रहेका जयशंकरको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएपनि टुंगो लागेको छैन ।

यसैगरी, भारतीय पूर्व राजदूत रञ्जित रे नेपाल आएका छन् । उनी एउटा सेमिनारमा भाग लिन आएको भनिएपनि राजनीतिक भेटघाट गरेका छन् । भारतीय थिङ्क ट्याङ्कहरुको नेपालमा आवतजावत् बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot