Logo

बचत सहकारीको सङ्ख्या घटाइन्छ : मन्त्री अर्याल



काठमाडौं, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताएकी छिन् ।

मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताएकी हुन् उनले भनिन् “गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।”

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताईन् । “सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ”, उनले भनिन्। सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो ।

मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरे।

 



प्रतिक्रिया दिनुहोस्