काठमाडौं, भदौ २७ । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई खोजिरहेको प्रहरीले जनाएको छ ।
सभापति कोइरालालगायतका काङ्ग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके काङ्ग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गरेका छन् ।
तर उनको आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने खण्डन गरेका छन्। “काङ्ग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन ।
काङ्ग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।” अध्यक्ष खरेलले जानकारी गराए ।
नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।
आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उहाँको उपचार गरिएको थियो ।
सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ । रासस