Logo

सभापति देउवाविरुद्ध जथाभाबी नबोल्न नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुको चेतावनी (भिडियोसहित)



काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुले यस्तो आग्रह गरेका हुन् । नेविसंघका नेता तथा परराष्ट्र मामिलाका जानकार डम्बर सुनारले पार्टी नेतृत्वको विरुद्धमा अनावश्यक जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।

उनले भने,‘पार्टी नेतृत्वहरुको त्याग, बलिदान र समर्पणका कारण आज देशमा प्रजातन्त्र जिउँदो छ, हामीले हाम्रा अभिभावकहरुको सम्मान गर्नुपर्छ । यदि पार्टी नेतृत्वले केही कमिकमजोरी गरेको नै भएपनि पार्टीभित्र सही सुझाव दिन सकिन्छ, तर मिडियामा हल्ला गरेर र ठूलो स्वरमा बोलेर होईन । यसले राम्रो सन्देश जाँदैन्।’ सुनारले युवाहरुको भावनालाई समेट्न पार्टी नेतृत्व सक्षम रहेको विश्वास दिलाए ।

उनले पार्टी नेतृत्वलाई गाली गरेर कसैलाई पनि फाईदा नहुने जिकिर गरे । उनले थपे,‘सभापतिलगायत अहिलेको हाम्रो पार्टी नेतृत्व पँक्ती विद्यार्थी आन्दोलनबाटै आउनुभएको हो, उहाँहरुले त्यही धरातलबाट आएर मुलुकको बागडोर सम्हालिसक्नुभएको छ। त्यसैले उहाँहरुले नेविसंघका मर्म र भावनालाई राम्रोसँग बुझ्नुभएको छ । उहाँहरुभन्दा अरुले हाम्रो भावनालाई बुझ्न सक्नुहुन्न । त्यसैले उहाँहरुको बारेमा जथाभावी टिप्पणी गर्नु हुँदैन् ।’ पार्टी सभापतिविरुद्ध जथाभावी बोल्ने झुण्डलाई कारबाही गर्नुपर्ने माग गरे ।

सुनारले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अराजकतातर्फ उन्मुख रहेको आरोप लगाए । सरकारले आफ्नो व्यवहार र शैली तत्काल परिवर्तन नगरे आफूहरु सरकारविरुद्ध कडा संघर्षमा उत्रिने पनि उनको चेतावनी थियो । उनले बाँके कांग्रेस सभापति किरण कोइरालामाथि सत्तारुढ दल नेकपाका कार्यकर्ताले गरेको आक्रमणको समेत कडा निन्दा गरे ।

त्यस्तै, नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य सम्झना खत्रीले नेविसंघभित्र गुट हुनुहुँदैन भनेर ठूलो स्वरमा बोल्नेहरुले नै अहिलेपनि गुटको राजनीति गरिरहेको आरोप लगाईन् । उनले भनिन्,‘नेविसंघमा जो गुट हुनुहुँदैन् भनेर बोलिरहेको छन्, आज उनीहरुले नै व्यवहारमा गुटको राजनीति गरिरहेका छन् ।’

उनले नेविसंघ युवाहरुको काँधमै सुम्पिनुपर्ने बताईन् । उनले भनिन्,’योग्य र सक्षम नेतृत्व ल्याउनुपर्छ ।’ त्यस्तै उनले भागबण्डाबाट मात्रै सबै कुरा प्राप्त गर्न खोज्ने झुण्डहरुले नै सभापति देउवालगायतका नेतृत्वविरुद्ध नकारात्मक कुरा बोल्ने गरेको गुनासो पोखिन् । उनले भनिन्,‘निर्वाचित पार्टी सभापतिविरुद्ध जभाभावी बोल्नेलाई पार्टीले अनुशासनको कारबाही गर्नुपर्छ । भागबण्डाको नाममा समानान्तर कमिटी चलाउने प्रवृत्ति गलत हो ।’

नेविसंघका अर्का नेता लोकेश आचार्यले पार्टी सभापतिविरुद्ध बोल्ने नेविसंघका नेताहरुलाई झुण्ड र अराजक समूहको संज्ञा दिएका छन् । उनले सभापतिविरुद्ध जथाभावी बोल्नेविरुद्ध आफूहरु जाईलाग्ने चेतावनी दिए । उनले भने,‘हामी ती झुण्ड समूहलाई ईटको जवाफ पत्थरले दिन्छौं । हलो अड्काउने गोरु चुट्ने काम नगरौं ।’

डबल फायर खोलेर पार्टी सभापतिलाई तर्साउँछु भनेर दिवास्वप्न नदेख्नपनि उनले चेतावनी दिए । ‘झुण्ड समूहले डबल फायर खोले हामी पनि तिनीहरुका विरुद्ध जाईलाग्न तयार छौं ।’–उनले थपे ।

नेविसंघका अर्का नेता आदर्श मल्लले नेविसंघका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको दायराभित्र रहन आग्रह गरे । उनले सभापतिविरुद्ध जथाभावी बोल्ने समूहलाई कुहिएको आलुको संज्ञा दिए । उनले भने,‘कुहिएको आलुलाई फाल्नेभन्दापनि किटनाषक औषधी हालेर नष्ट गर्नुपर्छ । हामी त्यसो गर्नपनि तयार छौं ।’

आजको पत्रकार सम्मेलनको सञ्चालन नेविसंघका निवर्तमान केन्द्रिय सदस्य चन्द्र बिश्वकर्माले गरेका थिए । उनले पनि पार्टी नेतृत्वविरुद्ध जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्