Logo

धरहरा निर्माणमा प्रगति, ९ महिनामा सकिने



काठमाण्डौ । २०७२ सालको भूकम्पले भत्काएका धेरै संरचनामध्ये एउटा यस्तो संरचना, जसले धेरैको ध्यान तान्यो । हो, काठमाण्डौमा रहेको धरहरा सबैको प्यारो थियो । भूकम्पले भत्काएपछि पुनः निर्माणका लागि सबैभन्दा धेरै दबाब यही धरहराका लागि सृजना भयो ।

तर धरहरा पुनः निर्माणसम्बन्धमा लामो समय विवाद भयो । एक निजी निर्माण कम्पनीलाई जिम्मा दिएपछि भने तिब्र गतिमा काम भइरहेको छ । २०७२ सालको भूकम्पले क्षतिपराएको धराहरा पुननिर्माणको काम अहिले सम्म २३ प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएसगै कामले तिव्रता पाएको हो । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ ।

करिब ३ सय जना कामदार धरहरामा खटिएका छन् । दुई वर्षमा सक्ने लक्ष्य राखिएको काम अहिलेसम्ममा भूइतलाको काम सम्पन्न भई एक तल्लामाथिको काम हुदै छ । अबको ९ महिना अर्थात समय सिमा भित्र धरहरा निमर्णको काम सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनी रमण कन्ट्रक्सनले जानकारी दिएको छ ।

केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए ।

धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो । तर ती सबै समस्याको समाधान भए सगै कामले तिव्रता पाएको छ । यसप्रति सर्वसाधारण पनि सन्तुष्ट छन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुन्छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो र अपांगमैत्रीसमेत हुनेछ ।



प्रतिक्रिया दिनुहोस्