काठमाण्डौ । घाटामा रहेको नेपाल वायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकै नाममा झण्डै पाँच करोड रुपैयाँ बक्यौता छ । रकम असुली गर्न नसकेको निगमले कूल वक्यौता रकम कति छ भनेर चाँही खुलाउन चाहेन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न समयमा विमान चार्टर गरेबापतको वक्यौता रकम अझैसम्म तिर्नुभएको छैन । शाहले ४ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।
उक्त बक्यौता रकम शाह राजा हुँदाका बेलाकै हो । अब कसरी उक्त वक्यौता रकम असुल गर्ने भन्नेमा निगम अन्योलमा छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ । लामो इतिहास बोकेको निगम सधैँ घाटामा चल्दै आएको छ ।
तर निगमका सहप्रवक्ता सुलेश्व मिश्रले भने बाहिर प्रचार भएजस्तो घाटा नभएको दावी गर्नुभएको छ । तर वक्यौता रकम किन उठेन र किन उठाउन सकिनए भन्ने विषयमा सहप्रवक्ता मिश्रले जवाफ दिन चाहेनन् ।
सरकारी ग्यारेन्टी, जहाज र भवन धितो राखेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट अर्बौ रकम ऋण लिएर जहाज खरिद गरेको निगमलाई ऋण तिर्न धौं धौ पर्दै पर्दै आएको छ । निगमले ऋण तिर्न सक्ने अवस्था नभएपनि पुनः सरकारसँग २० अर्ब माग गरेको छ ।
गत चैत्रमा पनि किस्ताको रकम बुझाउन सक्ने अवस्था निगमसँग नभएपछि सरकारले नागरिक लगानी कोषको २० अर्ब ऋण तिरिदिएको थियो । संघिय संसदको अन्तराष्ट्रिय सम्बद्ध समितिले नागरिक लगानी कोषले सरकारी जमानत धितो राखेपनि एक अर्ब रुपैयाभन्दा बढी लगानी गर्दा विज्ञहरुसँग सल्लाह गर्नुपर्नेमा त्यसो नगरेको पाइएको थियो ।
हाल निगमसँग ९० अर्बको सम्पत्ति रहेको दाबी गरिएपनि निगमभित्र हुने भ्रष्टाचार र जहाज खरिद प्रक्रियामा अर्बौ अनियमितता हुने गरेका छन् । गत बर्ष वाइडबढी खरिदमा साढे चारअर्बभन्दा बढी घोटाला भएको सार्बजनिक लेखा समितिको उपसमितिले ठहर गरिसकेको छ ।
निगमका अधिकारीहरु भने जहाज खरिद गर्दाको अर्बौ रकम घोटाला पुष्टि भईनसकेको भन्दै निगमभित्रको अनियमितताबाट चोखिन खोज्छन् ।
यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राई निगमभित्रका भ्रष्टाचार र अनियमितताका गतिविधिलाई नियन्त्रण गर्नेगरी काम गर्ने बाचा गर्दै आउनुभएको छ ।
तर ऋणै ऋणमा डुबेको निगमलाई राज्यले नागरिकबाट उठाएको करको रकम तिरिदिएर कहिले सम्म टिकाईराख्ने ? प्रश्न गम्भिर छ ।