Logo

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै



डडेल्धुरा, असोज १ । डडेल्धुरा लगाएत सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाइँदै छ। असोज संक्रान्तिका दिन आज राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ।

भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ। भगवान कृष्णले पुतनामाथि विजय गरेको अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसीयालीमा पर्व मनाइन्छ।

भदौ संक्रान्तिमा गाउँका मानिस नजिकैको वनबाट विभिन्न बुट्यानहरू झिकणा काटेर एक ठाउँमा थुप्रो बन्ढुनी पार्छन्। त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ। पर्वको केन्द्रविन्दु असोज संक्रान्तिलाई मानिन्छ।

किम्बदन्ती अनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा पुतना आफैं जलेर मरेकी थिइन्। द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको हो ।

त्यसपछि पुतनालाई कृष्ण र उनका साथीले जलाउँदै उत्सव मनाएका थिए। त्यही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो। यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन। यसलाई बाल प्रधान पर्व पनि भन्न सकिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल बूढी निकाल थुई बूढी थुई’ भन्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्