Logo

लागुऔषधका ५५४ कारोवारी पक्राउ



भद्रपुर, १ असोज । विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३/७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५/७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५/७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए । सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउँछन् ।

प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ । अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भने, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।”-रासस



प्रतिक्रिया दिनुहोस्