Logo

विश्वबजार हल्लाउने त्यो हमला



रिपोर्टर्स नेपाल । अहिले विश्वबजार एक्कासी प्रभावित भएको छ । पेट्रोलियम पद्धार्थको रातारात मूल्य वृद्धि हुँदा यसो भएको हो । यो वृद्धि ३० वर्षपछिको किर्तिमान हो । यसका पछाडि एउटा हमला कारण बनेको छ ।

गत शनिबार यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको एउटा हमला भयो । दशवटा ड्रोनले साउदी अरबको तेल प्रशोधन केन्द्रमा एकसाथ हमला गरे । साउदी सेनाको प्रतिरक्षा असफल भएको यो हमलाका कारण उसको आधा उत्पादन घटेको छ ।

यमनका हुथी विद्रोहीले साउदी अरेबियामाथि हमला गर्नुमा बदलाको भावना कारण बनेको छ । यमनका हुथीमाथि साउदीले आक्रमण गर्दै आएको छ । यसमा संयुक्त अरब इमिरेट्सले सघाउ पुर्याएको छ । हुथीलाई इरानले सघाएको आरोप लाग्दै आएको छ । हुथीले साउदी तेल प्रशोधन केन्द्रमा आक्रमणको जिम्मा लिइसकेका छन् ।

आक्रमणका क्रममा ठूलो क्षति पुगेको छ । साउदी अरबको आधा तेल उत्पादन घट्दा विश्व बजारमा पाँच प्रतिशतले उत्पादन घटेको छ । प्रतिदिन ५७ लाख ब्यारेलका दरले उत्पादन घट्दा मूल्य वृद्धि भएको छ । विश्वबजारमा २० प्रतिशतसम्मको मूल्यवृद्धिले तेलमा निर्भर आयातकर्ता देशहरु बढी प्रभावित भएका छन् । यसको असर भारत हुँदै नेपालसम्म परेको छ ।

विश्वबजार देखि विश्व राजनीतिमा समेत प्रभाव पार्ने हमलाको प्रतिक्रिया देखिनसक्छ । अमेरिकाले इरानमाथि आरोप लगाइसकेको छ । अमेरिकाले इरानमाथि आक्रमण गर्ने सम्भावना पनि औल्याएको छ । यसो भएमा खाडी क्षेत्रमा युद्ध हुनसक्छ । त्यसले विश्व राजनीतिमा असर पर्ने निश्चित छ । साथै विश्वबजारमा समेत ठूलो असर पर्न सक्छ । त्यो असर भयावह हुनसक्छ । अहिले विश्वबजार तरंगित पारेको हमला खाडीमा त्रासदीपूर्ण युद्धको कारण बन्नसक्छ । Photo: Agencies



प्रतिक्रिया दिनुहोस्

Screenshot